ad ad

समाज


‘खुल्ला आकाशमुनि बस्दाबस्दै पतिको ज्यान गयो, मलाई पनि यस्तै जाडोले लाने हो कि’

‘खुल्ला आकाशमुनि बस्दाबस्दै पतिको ज्यान गयो, मलाई पनि यस्तै जाडोले लाने हो कि’

शैलेन्द्र महतो
पुस १०, २०७६ बिहिबार १६:१३,

सरकारले नयाँ पक्की घर बनाइदिने भन्दै ओत लाउने छाप्रोको घर भत्काएर उठिबास गरेको झण्डै ३ वर्ष भइसक्यो। त्यसै बेलादेखि घरविहीन बनेकी महोत्तरीको भंगहा नगरपालिका ३ की ६५ वर्षीया मुनेसरीदेवी सदा आफ्ना छोरा, बुहारी र नातिनातिना गरी परिवारका ८ जना खुल्ला आकाशमुनि दिनरात छलिरहेकी छन्।

रातको ओस, गर्मीको घाम, पानी र जाडोको सितलरहर ३ वर्षदेखि छल्नु मुनेसरी परिवारको नियति बनेको छ। खुल्ला आकाशमै दिनरात काट्दै आएको कारण बिरामी भएर २०७६ भदौको वर्षामा मुनेसरीले ७० वर्षका पति जुल्मा सदा गुमाइन्। अहिले तराईमा सीतलहर चलिरहेको छ। मुनेसरीसहित उनका परिवार त्रिपालको ओतमा कठ्यांग्रिएर जसोतसो जाडो छल्दैछन्।

‘खुल्ला आकाश मुनि नै दिनरात काट्दा बिरामी भएर पतिको ज्यान गयो। अहिले बालबच्चासहित त्रिपाल र परालको सहाराले जसोतसो जाडो छल्दै छौं। म पनि बिरामी भइरहन्छु। कुन ठेगान। यस्तै जाडोमा कालले लाने हो की ?’

mushar1

सडकमै बसेर नाङ्लोमा धान केलाउँदै गरेकी मुनेसरीले भनिन् ‘सुरुमा भएको खरको ओत लाग्ने झुपडी भत्काउँदा सरकारले केहि दिनमै बनाइदिन्छु भने। तीनवर्ष बित्न लाग्यो। तर जग हालेर डेढ वर्ष छाडे। अहिले देवाल उठाएर छाडेका छन्। खोइ कहिले बन्ने हो कुन्नि ? मलाई पनि सायद पति जस्तै मर्नु लेखेको छ।’

mushar8.jpg

मुनेसरीकै परिवारकै जस्तै हालत छ स्थानीय नयनकुमारी सदा परिवारको। उनी लगायत परिवारका ९ जना सदस्यहरु खुल्ला अकाशमुनि घाम, पानी छल्दै आइरहेका छन्।

‘सुरुमा त पक्की घर बनाइदिने भनेर भएको खरको झुपडी भत्काउँदा खुसी थिएँ। केहि दिनमै हाम्रो पक्की घर बन्छ भन्नेमा विश्वस्त थिएँ। तर तीनवर्ष पुग्न लाग्दा समेत घर बनेन। हामीलाई सरकारले बेघर बनाइदियो। अहिले जाडोमा परिवारका सबैजना माथि त्रिपालको ओत र तल परालको साहाराले सीतलहर छल्दै छौं।’ नयनकुमारी सदाले भनिन् ‘हामीलाई जनता आवासको नाममा सरकारले उठिबास गराइदियो। हाम्रो पीडा कसले बुझ्ने ?’

mushar9.jpg

मुनेसरी र नयनकुमारीको परिवार उदाहरण मात्र हुन्। त्यही बस्तीमा दलित एवं विपन्न १९ मुसहर परिवारको घर जनता आवास कार्याक्रम अन्तर्गत पक्की घर बनाउन सरकारले तोडेको थियो। १९ घरपरिवार नै बेघर भएपछि झण्डै ३ वर्षदेखि घामपानी, जाडोमा कष्टकर जीवन व्यथित गरिरहेका छन्। पराल र आगोको शहाराम बलाबच्चासहित अहिले पुसको जाडो छलिरहेका छन् मुसहरहरु।

घर तोडेको केही महिनामै सुरुमा घरको जग उठाएर डेढवर्ष जति सरकारले छाडिदियो। त्यसपछि केही महिना यता घरको भित्ता खडा गरेर छाडिदिएको छ। तर कुनै पनि घरमा अझै छानो हालेको छैन।

सहरहरुले माथिबाट त्रिपाल, कपडा लगायतको वस्तुले ओत लगाएर त्यसमै जसोतसो जीवन व्यतित गरिरहेको स्थानीय रामपृत सदाले बताए। उनले सरकार बिचबिचमा बेपत्ता बनेको र आफूहरुको पीडालाई वेवास्ता गरेको गुनासो गरे।

यता भंगहा नगरपालिकाका मेयर संजिवकुमार साहले नयाँ घर बनाइदिने बहानामा भएको घरलाई समेत भत्काएर दलित विपन्नहरुलाई सरकारले उठिबास बनाएको आरोप लगाए। जनता आवास केन्द्र सरकारको आर्थिक सहयोगमा प्रदेश सरकारको काम भएकाले घरको उठाएको जगमाथि नगरपालिकाले बनाउन नमिल्ने उनको भनाई छ।

गएको वर्ष जाडोमा विभिन्न संघसंस्थाको समन्वयमा त्यहाँका प्रत्येक घरमा २।३ वटा बल्यांकेट र लुगाकपडा वितरण गरेको र अहिले सीतलहरमा जाडोबाट बचाउन दाउरा समेत नगरपालिकाबाट वितरण गरिरहेको मेयर साहले बताए। निर्माणधिन घरमाथि छानो हाल्ने काम मात्र भएकाले यथासिघ्र काम गरिदिन उनले प्रदेश सरकारसँग आग्रह गरे।

mushar11.jpg

जनता आवास कार्यक्रम केन्द्र सरकारको आर्थिक सहयोगमा प्रदेश २ सरकारले चलाइरहेको छ। जनता आवासको कामको जिम्मेवारी बेकेको प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्रालयका मन्त्री जितेन्द्र सोनलले कर्मचारी अभावले काम गर्न नसकेको प्रतिक्रिया दिए।

‘कर्मचारी नै छैन। जनता आवासको घर कसरी बनाउने? तर पनि जे जति कर्मचारी छन् उनीहरुलाई नै जिम्मा दिएर चाँडो घरहरु बनाउन निर्देशन दिएको छु’, मन्त्री सोनलले भने ‘जनताको समस्यालाई हामीले पनि चासो दिइरहेका छौं। तर गर्ने के? सकभर चाँडै जनता आवासको निर्माणाधिन काम सक्ने हाम्रो प्रयास छ।’

mushar12.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .