ad ad

खेल


छायाँ कप्तानको कमाल

छायाँ कप्तानको कमाल

यज्ञराज जोशी
पुस १०, २०७६ बिहिबार १६:२४,

दुईदिन अघिसम्म विराटनगर टाइटन्स पोखरा प्रिमियर लिगबाट बाहिरिने संघारमा थियो। लिग चरणको अन्तिम खेल बाँकी रहँदा उसको जम्मा २ अंक थियो। साविक विजेता पोखरा पल्टनलाई पराजित गरेको विराटनगर त्यसबाहेक चितवन राइनोज, धनगढी ब्लुज र काठमाडौं गोल्डेन्ससँग लगातार हारेको थियो।

सोहीकारण इलिमिनेटर पुग्न बुधबार लिगको अन्तिम खेलका उसले बुटवलले दिएको लक्ष्य १२ ओभरमै भेट्टाउनुपर्ने बाध्यता आइलाग्यो। यस सिजनका नयाँ कप्तान प्रदीपसिंह ऐरीले भने झै उनीहरुसँग जित बाहेक केही विकल्प थिएन। त्यसैले बुटबलको दिएको १ सय ३४ रनको लक्ष्य उनीहरुले ११.४ ओभरमै सनसनीपूर्ण खेल पस्कदै पूरा गरे।

बलियो मानिएको बुटवलमाथिको जितले विराटनगरको आत्मविश्वास बढायो। अर्कोदिन बिहीबार पनि इलिमिनेटरमा पुनः बुटवलसँग नै उनीहरुले खेले। अवस्था पुनः उस्तै थियो, हारे प्रतियोगिताबाट बाहिरिने जिते फाइनलमा।

पहिले नै इलिमिनेटरमा स्थान बनाइसकेकाले लिग चरणको अन्तिम खेलमा विराटनगरसँग पराजित भएपनि बुटवललाई केही फरक परेन। त्यसैले कप्तान सोमपाल कामीसहित अर्का मुख्य बलर ललितसिंह भण्डारीले आराम लिए। तीनै खेलाडीहरु नभएको मौका सदूपयोग गर्दै विराटनगरले खेल जितेको समेत केहीले भन्न भ्याए।

तर, बिहीबार इलिमिनेटरमा भने सबै आलोचकको बोली बन्द गर्दै विराटनगरले सनसनीपूर्ण प्रदर्शन गर्यो। सोमपाल, ललितसहित सबै मुख्य खेलाडीले भरिएको बुटवलविरुद्ध २१ रनको जित हात पार्दै विराटनगरले शनिबार हुने फाइनलमा चितवन राइनोजसँगको भेट पक्का गर्यो।

इलिमिनेटरमा म्याच चेञ्जर अवार्ड ग्रहण गर्दै पुनित

विराटनगरलाई सनसनीपूर्ण तरिकाले फाइनल यात्राका गराउने नायक हुन्, पुनित मेहरा। जो विराटनगरका सर्वाधिक रन स्कोरर तथा सर्वाधिक विकेट लिने खेलाडीमात्रै नभएर प्रतियोगिताकै सर्वाधिक रन स्कोरर समेत हुन्।

दिल्लीका यी ३१ वर्षीय अलराउण्डरले विराटनगरका युवा खेलाडीमाथि आफ्नो भरपुर अनुभवको प्रयोग मैदानमा गरिरहेका छन्। बलिङ, ब्याटिङ र फिल्डिङमा जमिरहेका पुनितले मैदानमा निभाउने अर्को महत्वपूर्ण भुमिका हो, कप्तानको।

तर खासमा विराटनगरका कप्तान प्रदीप हुन्। मैदानमा फिल्ड सेटअप, रणनीती बनाउँन, बलर लगाउने, हौसला बढाउने लगायत सम्पूर्ण काममा पुनित बढी हावी छन्। त्यसैले पुनित विराटनगरका छायाँ कप्तानको भुमिका निभाईरहेका छन्।

‘पुनित अनुभवी खेलाडी हुन्। उनीसँग भारतको माथिल्लोस्तरको क्रिकेट खेलेको अनुभव छ। उनको प्रदर्शनले टोलीलाई फाइनलमा पुर्याउन सहयोग त गर्यो नै साथै उनले मैदानमा मलाई पनि धेरै सजिलो पारेका छन्,’ विकेटकिपरको भुमिकामा समेत रहेका कप्तान प्रदीप ऐरीले भने।

पीपीएलको हरेक खेलमा पुनितको ब्याटिङ चलेको छ। धनगढीविरुद्धको पहिलो खेलमा १५ रनमात्रै जोड्न सकेका पुनितको ६१ रनको अर्धशतकीय पारीको मद्दतमा विराटनगरले दोस्रो खेलमा साविक पोखरालाई हराएको थियो।

विकेटकिपर तथा कप्तान प्रदीप ऐरीसँग पुनित(५६ नम्बर जर्सी)

यस्तै तेस्रो खेलमा काठमाडौंविरुद्ध पुनः ५३ रनको अर्धशतकीय पारी खेलेका उनले चौथो खेलमा चितवनसँग २४ र बुटवलविरुद्धको लिग चरणको अन्तिम खेलमा ३२ रन जोडेका थिए। इलिमिनेटरमा उनले बुटवलविरुद्ध १९ रन बनाउँनुका साथै ३ विकेटपनि लिएपछि विराटनगर फाइनलमा पुगेको थियो।

उनी आफू एक्लै रनमात्रै बनाउँदैनन् क्रिजमा भएका अर्का पार्टनरलाई पनि खेल्न सहयोग गर्छन्। त्यसकै उदाहरण चितवनविरुद्धको खेलमा पनि देखिएको थियो। उक्त खेलमा एक समय हेवीवेट खेलाडीले भरिएको चितवनलाई मुस्किलमा पारेको विराटनगर १८ रनले मात्रै पराजित भएको थियो।

विराटनगरलाई जितको नजिक ल्याउन लोकेश बमले ३६ बलमा ६२ रनको सानदार पारी खेलेका थिए। उक्त पारी खेल्न उनलाई अर्को इनिङ्सबाट यीनै पुनितले सहयोग गरिरहेका थिए। दुबैजनाले सातौं विकेटका लागि ७७ रनको साझेदारी समेत गरे।

‘पुनितले मलाई हरेक पटक यसरी खेल्नुपर्छ भनेर सम्झाईरहे। दबाबमा कसरी खेल्ने? कतिबेला सिंगल, डबल लिने भनेर मलाई सहयोग गरिरहे। त्यसैले म लामो इनिङ्स खेल्न सफल भए,’ पहिलो पटक फ्रेन्चाइजी क्रिकेट खेल्दै प्रभाव छाडेका लोकेशले भने।

पुनित भने टिम र टिम अफिसियलहरुको सहयोगले आफूलाई सजिलो बनाएको बताउँछन्। ‘टिम र स्टाफबाट राम्रो सपोर्ट हुन्छ भने त्यसले तपाईलाई सजिलो अनुभव गराउँछ,’ पुनितले मैदानमा हाबी हुनुको कारण खोले, ‘त्यसमाथि तपाईलाई रन बनाउनुपर्ने र कसिलो बलिङ गर्दै रन रोक्नुपर्ने दायित्व बोध छ भने तपाई त्यही प्रयास गर्नुहुन्छ र म पनि त्यहीँ गरिरहेको छु।’

टोली आफूमाथि बढि निर्भर भएको उनी मान्दैनन्। भन्छन्, ‘यो टिमवर्क हो। म नचलेको बेला अरु खेलाडीले पनि जिम्मेवारी उठाएका छन्। उनीहरुले रन बनाएका छन्। रन रोकेका छन्। सबैले आफ्नो दायित्व बुझेकाले सजिलो भएको हो।’

पुनितले पछिल्लो समयमा रुपेन्देही च्यालेन्जर्सबाट धनगढी प्रिमियर लिग खेलेका थिए। उक्त लिगमा समेत उनको प्रदर्शन अब्बल थियो। लगातार नेपालमा क्रिकेट खेलिरहेका उनी नेपाली खेलाडीहरुले आफूलाई इप्रुभ गरिरहेको बताउँछन्।

‘नेपाली क्रिकेटमा अहिले धेरै परिवर्तन भएको छ। यस प्रतियोगितामा पनि रन बनाउने र विकेट लिने शीर्ष पाँच जना खेलाडीहरुको सुचि हेर्दा त्यसमा नेपालका ३ जना देखिन्छन,’ पुनितले भने, ‘यसले नेपाली खेलाडीहरु खेलपिच्छे र प्रतियोगिता पिच्छे आफूलाई इप्रुभ गरिरहेको देखाउँछ। यो नेपाली क्रिकेटका लागि पनि राम्रो संकेत समेत हो।’

एक समय लिग चरणबाटै बाहिरिने अवस्थाबाट फाइनलमा पुगिसकेपछि अब आफूहरु च्याम्पियन बन्नकै लागि खेल्ने पुनित बताउँछन। तर पारस खड्काको कप्तानीमा रहेको हेवीवेट टोली चितवनविरुद्धको खेल निकै चुनौतीपूर्ण हुने उनले ठानिसकेका छन्।

‘चितवन जारी प्रतियोगिताको अपराजित टोली हो। उनीहरुसँग राम्रा खेलाडीहरु पनि छन्,’ पुनितले भने, ‘तर हाम्रो अहिले जारी लयलाई फाइनलसम्म कायम राख्नेमा म विश्वस्त छौं। म हामी च्याम्पियन बन्छु भन्नेमा आशावादी छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .