यही मंगलबार नयाँबानेश्वरको सडकमा आत्मदाह प्रयास गरि उपचारका क्रममा बुधबार निधन भएका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति बनाएको छ।
गृह मन्त्रायका सह-सचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति बिहीबार गठन गरिएको हो।
अर्थमन्त्रालयका उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयका उपसचिव, नेपाल प्रहरीबाट प्रहरी उपरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका उप-अनुसन्धान निर्देशक सदस्य रहने गरि समिति गठन भएको हो।
प्रेमप्रसाद आचार्यले नाम लिएकाहरुविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी
आत्मदाहप्रयास गर्दा निधन भएका आचार्यले सामाजिक सञ्जालमा उठाएका सबै विषयमा यथाशिघ्र छानबिन गरी प्रतिवेदन तयार पार्न समितिलाई भनिएको छ।
आचार्यले उठाएका मुद्दाबारे सरकारले के के गर्नुपर्ने हो सुझाव तयार पार्नेगरि समितिलाई कार्यादेश दिइएको गृहमन्त्री रवि लामिछानेको सचिवालयले जनाएको छ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आचार्यको विषयमा छानबिन गर्न र यथाशीघ्र प्रतिवेदन तयार पार्न गृह मन्त्रालयलाई जिम्मेवारी दिएको थियो।
आचार्यको निधनपछि कीर्तिपुरस्थित वर्न अस्पताल पुगेर बुधबार अपरान्ह उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले उनका परिवारका सदस्यहरुलाई भेटेका थिए।
त्यही उनले आचार्यले उठाएका समस्यामा सरकारसँगै रहेको बताएका थिए। आचार्यले सञ्जालमा उठाएका विषयमा छानबिन गरेर समाधान खोज्ने प्रयत्न गर्ने गृहमन्त्रीले बताएका थिए।
Shares
प्रतिक्रिया