हाल देशमा कुनै उल्लेखनीय मौसम प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले (शुक्रबार बिहान) देशका पहाडी भेगमा आंशिक बदली (थोरै बादल) रही अन्य स्थानमा मौसम सामान्यतया सफा छ। तराईमा भने हुस्सु/कुहिरो लागेको छ।
महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आगामी आइतबारसम्म कतै वर्षा र हिमपातको सम्भावना छैन।
बुलेटिनअनुसार आज दिउँसो प्रदेश नम्बर १ र गण्डकी प्रदेशमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। यसैगरी राति प्रदेश नम्बर १ र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ : तराईका भूभागमा बिहानीपख लागेको हुस्सु/कुहिरोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
Shares
प्रतिक्रिया