प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएका बालबालिका लक्षित कार्यक्रमहरु प्रभावकारी भएको बताएका छन्।
बुधबार राजधानीमा भएको बालबालिकासँग प्रधानमन्त्री कार्यक्रममा उनले यस्तो बताएका हुन्। सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउने, गरिब र साहाराबिहीन बालबालिकाहरुको अभिभावकत्व लिने कार्यक्रम प्रभावकारी रुपमा अगाडि बढेको उनले बताए।
‘बालबालिका जन्मेपछि ६ महिनादेखी, सुनौला हजार दिन र पोषण अभियानका लागि विभिन्न कार्यक्रमहरु सञ्चालनमा आएका छन्। जसबाट बाल मृत्युदर घटेको छ’, उनले भने, ‘जन्म लिन नै नपाई हुने मृत्यु हुने अवस्था आउन नदिन दुर्गम ठाउँबाट हेलिकप्टरबाट पनि प्रजनन्का लागि स्वास्थ्य संस्थामा लैजाने गरिएको छ।’
योग्य नागरिक उत्पादनकालागि बालबालिकाको शिक्षा, स्वास्थ्यका क्षेत्रमा अघि सारेका योजनाहरुपनि प्रभावकारी भएको उनले बताए। प्रधानमन्त्री ओलीले जन्मिनु भन्दा पहिलेदेखी अस्पताल लगेर जन्म दिएमा पुरस्कार दिने जस्ता कार्यक्रमले पनि सरकार बालबालिकाप्रति कति जिम्मेवार छ भन्ने कुरा प्रमाणित हुने बताए।
प्रधानमन्त्री ओलीले बालबालिकाहरुले राजनीतिका विषयमा चासो राख्नुपर्ने बताएका छन्। विद्यार्थीहरु राजनीतिमा आउन हुन्छ कि हुँदैन भन्ने प्रश्नमा उनले भने, ‘विद्यार्थीहरु राजनीतिमा आउनुपर्छ भनेर म भन्दिन तर आफ्नो सामान्य ज्ञानका लागि देशमा के भइरहेको छ। कस्तो भइरहेको छ भन्ने कुरा थाहा पाइराख्नुपर्छ।’
प्रधानमन्त्री ओलीले राजनीतिमा सुधार आएमात्रै देशमा सुधार आउने र राजनीति बिग्रेको अवस्थामा देशको अवस्थामा पनि बिग्रिने बताए।
Shares
प्रतिक्रिया