ad ad

समाज


आज काठमाडौँसहित देशका पहाडी भेगमा वर्षाको सम्भावना

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँ पर्ने अनुमान
आज काठमाडौँसहित देशका पहाडी भेगमा वर्षाको सम्भावना

फाइल तस्बिर


नेपालखबर
फागुन २४, २०७९ बुधबार ७:९, काठमाडौँ

आज काठमाडौँ उपत्यकासहित देशका पहाडी क्षेत्रमा वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

देशभरकै पहाडी भेगमा वर्षाको सम्भावना देखिएकाले कुन ठाउँमा पानी पर्छ भनेर ठ्याक्कै तोक्न नसकिने महाशाखाका मौसमविद् वरुण पौडेलले बताए। 

‘अहिले पहाडमा सबैतिर बादल छ, त्यसैले पहाडी क्षेत्रका जुनसुकै स्थानमा पानी पर्न सक्छ, अलि बढी सम्भावना गण्डकी प्रदेशमा देखिएको छ’, उनले भने, ‘ठ्याक्कै भन्न सकिँदैन, काठमाडौँकै हकमा पनि आज पानी पर्ने सम्भावना त छ, तर जिल्लाभरि पर्दैन।’

अहिलेको प्रणालीले खण्डखण्डमा पानी पार्ने भएकाले स्थान किटान गर्न गाह्रो हुने उनले बताए।  यसैले पहाडी क्षेत्रका थोरै स्थानमा पानी पर्ने भनेर लेखिएको उनको भनाइ छ।

महाशाखाका अनुसार आज दिउँसो देशको उच्च  पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना छ। 

यस्तै आज राति  कोशी र गण्डकी प्रदेशका पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

यसैबीच आज बिहान ५:४५ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १०.४ डिग्री सेल्सियस रहेको जानकारी पनि मौसमविद् पौडेलले दिए। तर अहिले बिहान ८:४५ बजे यो पुनः अपडेट गरिनेछ भने त्यतिबेला मौसम महाशाखाले देशका अन्य स्टेसनका न्यूनतम तापक्रमको विवरण पनि सार्वजनिक गर्नेछ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .