आज (शुक्रबार) देखि आइतबारसम्म (तीन दिन) देशका विभिन्न स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कतिपय ठाउँमा हावाहुरी आउने सम्भावना पनि छ।
त्यसैले चट्याङ तथा हावाहुरीले गर्ने क्षतिबाट बच्न महाशाखाले २४ घण्टे चेतावनी पनि जारी गरेको छ।
जसमा भनिएको छ– कोशी प्रदेश, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान र देशका बाँकी पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन/चट्याङ तथा हावाहुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।
मौसम महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभावले देशका पहाडी भेगमा आंशिक बदली (आकाशमा थोरै बादल) रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थान र देशका बाँकी पहाडी क्षेत्रका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार देशका बाँकी पहाडी क्षेत्रका एक/दुई स्थान भन्नाले पहाडी भेगका जुनसुकै स्थानमा पानी पर्न सक्छ। ‘आज काठमाडौँ उपत्यकामा पनि पानी पर्ने सम्भावना त छ, तर एकदम कम देखिन्छ’, उनले भनिन्।
मौसम महाशाखाले सामान्यतया तीन दिनसम्मको मौसम अनुमान गर्छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज (शुक्रबार) देखि पर्सि (आइतबार) सम्म वर्षाको सम्भावना यस्तो छ–
आज शुक्रबार
दिउँसो : देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थान र देशका बाँकी पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
राति : लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा सामान्य बदलीका साथै गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थान र देशका बाँकी पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
शनिबार
दिउँसो ː गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बागमती र कोशी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
राति : देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। कोशी, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
आइतबार
दिउँसो ː कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
राति : देशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
Shares
प्रतिक्रिया