‘डाक्टरसाप! पेटभित्रको बच्चा कस्तो छ जाँच्न आएकी हुँ,’ दुईज्यूकी महिला मलिन अनुहारसहित डाक्टर नवराज केसीको क्याबिनमा आइपुग्छिन्। डा. नवराज गर्भावस्थामा रहेको बच्चा हेर्ने छुट्टै डाक्टर हुने बताउँदै कोठा नम्बर आठमा जान सुझाउँछन्।
कमजोरीले होला! अप्ठ्यारोसँग क्याबिनबाट सुस्तरी बाहिरिन पाइला चाल्छिन्, ठीक त्यहीबेला ती महिलाको घाँटीमा डाक्टर नवराजको आँखा पर्छ। जहाँ एउटा ठूलो चोट हुन्छ।
केही वर्ष पहिले कर्णाली प्रादेशिक अस्पतालमा देखेको त्यो दृश्य सम्झिँदा अहिले पनि भावुक हुन्छन् उनी।
‘बहिनी यता आउनुस् त,’ ती महिलालाई डाक्दै सोध्छन्, ‘यस्तो अवस्थामा हुनुहुन्छ। घाँटीमा कसरी चोट लाग्यो?’
प्रश्न सकिन नपाउँदै उनका आँसु झर्छन्। डाक्टर नवराजलाई चिन्तित अनुहारले एकोहोरो हेरिरहन्छिन् ती महिला। अविरल चुहिरहेका आँसु पुछ्दै उनी भन्छिन्, ‘उहाँ (श्रीमान्) ले रक्सी खाएर आएर पिट्नुभयो। पेटमा लात्तीले हानेकाले बच्चालाई केही असर पर्यो कि भनी जाँच्न आएकी।’
डाक्टर नवराज अवाक हुन्छन्। के भन्नेबारे सोच्न सक्दैनन्। मात्रै यति भन्छन्, ‘अल्ट्रासाउन्ड गरेर आउनुस्।’
पेटमा जुम्ल्याह बच्चा भएको र उनीहरु सकुशल भएको रिपोर्ट आउँछ। श्रीमानको कुटाइले गलेको अनुहारमा पेटका बच्चाको खबरले केही मुस्कान ल्याउने प्रयाससहित उनी पुनः डा. नवराजको क्याबिनमा पुग्छिन्।
रिपोर्ट हेरेर डा. नवराजको अनुहारमा भने खुसी सञ्चार हुन सक्दैन। उनी श्रीमानले ती महिलालाई गर्ने हिंसा सम्झेर चिन्तित हुन्छन्। महिलाको हातमा एक पत्र राखिदिँदै भन्छन्, ‘बहिनी, यो तिम्रो श्रीमानलाई लगेर दिनु है।’
दुई दिनपछि महिला पुनः अस्पताल आउँछिन्।
यतिबेला उनको अनुहारमा पहिलोपटक आउँदा जस्तोे पीडा थिएन। मुस्कुराएको चम्किलो अनुहारसहित सोध्छिन्, ‘डाक्टरसाप! त्यो पत्रमा के लेखिदिनु भएको थियो? सधैँ आएर कुट्ने उहाँ अहिले त मेरो ख्याल राख्नुहुन्छ। कपडा धोइदिनुहुन्छ। खाना पनि पकाइदिनुहुन्छ। रक्सी पनि खानुभएको छैन।’
उनी त्यो पत्र गर्भमा रहेका बच्चाले पितालाई लेखेको चिठ्ठी भएको बताउँछन्।
पत्र यस्तो थियो –
‘प्रिय बुवा! म अहिले आमाको गर्भमा सुरक्षित छु। यही नै मेरो घर हो। म खेलिरहेको छु। मेरो बुवालाई कहिले भेटूँ, बुवाको काँधमा चढेर कहिले स्कुल जाऊँ, बुवासँग कहिले खेलूँ भइरहेको छ। तर जब साँझ पर्छ कसैले मेरो घर (आमाको गर्भ) मा लात्तीले हानेको जस्तो, घाँटी थिचेको जस्तो लाग्छ। हजुर आमाको वरिपरी हुँदा पनि यस्तो हिम्मत कसले गर्न सक्छ बुवा? कसले हजुरको प्यारो बच्चाको ज्यान लिन खोज्छ? मेरो घर भत्कन नदिन मेरो आमाको ख्याल गरिदिनु होला बुवा, नत्र म त मर्छु अनि हाम्रो कहिल्यै भेट हुन्न।’
डाक्टरले गर्भमा रहेको बच्चाको तर्फबाट पितालाई लेखिदिएको त्यो चिठ्ठीले महिलाको जीवनमा ठूलो परिवर्तन आयो। घरेलु हिंसा पनि रोकियो। उनले जुम्ल्याह बच्चा जन्माइन्। पोषणको अभावका कारण बच्चाको तौल निकै कम भएकाले तीन महिना अस्पतालमा राख्नुपरेको थियो।
तर डाक्टरको त्यो चिठ्ठीपछि उनका श्रीमानले निकै मेहनत गरेर दूध बेच्ने व्यापार थाले। अब उनी चिया पसल खोल्ने सोचमा छन्। बेलाबखत उनीहरु दूध ल्याएर डाक्टर भेट्न आइरहन्छन्।
उनको जीवनमा यो एक प्रतिनिधि घटना हो। कर्णालीमा यस्ता धेरै घटना आफूले देखेको र ती दुःख सक्दो बाँड्ने प्रयास गरिरहेको बताउँछन् डा. केसी।
२०३९ सालमा कर्णाली प्रदेशको सुर्खेतमा जन्मेका बालरोग विशेषज्ञ डा. नवराज केसीले जन्मथलोलाई नै कर्मथलो बनाएका छन्। दुर्गम मानिने कर्णाली प्रदेशका बालबालिकालाई उनले आठ वर्षदेखि उपचार गर्दै आइहेका छन्।
बिरामीलाई औषधि मात्र दिएर निको पार्न सकिँदैन, नजिकबाट दुःख पनि बुझ्नुपर्छ भन्छन् उनी। उनी रोग मात्र निको पार्दैनन् सकेसम्म रोग लाग्ने अवस्थासम्म पुग्ने मूल जरो पनि उखेलेर फाल्न पाए हुन्थ्यो भन्ने सोच राख्छन्।
बिजुली नपुगेको कर्णालीका ती विकट बस्तीमा उज्यालो बनेर घरघरमा पुगेका छन् उनी। कर्णालीका सबै जिल्लामा उनले स्वास्थ्य शिविर सञ्चालन गरेका छन्।
पेशाले चिकित्सक भए पनि उनी समाजसेवामा पनि तल्लीन छन्। उपचार गराएर पैसा तिर्न नसक्ने कैयौंका लागि दाता बनेका छन्। दुर्गममा काम गरे बापत पाएको रकमले किसानको ऋण तिरिदिन्छन्।
यति मात्रै होइन, उनी हरियो कर्णाली अभियानमा पनि छन्। पाँच वर्षयता उनी क्लिन एण्ड ग्रीन सुर्खेत भन्ने अभियान चलाइरहेका छन्।
भन्छन् ‘मैले संकल्प गरेको छु। आफू मर्नुअघि एक लाख बढी बिरुवा रोपेर हुर्काउने।’
हालै उनको ‘शून्यको मूल्य’ नामको किताब बजारमा आएको छ, जहाँ उनले कर्णालीका दुर्गम भेगमा आफूले भेटेका पात्रहरुको कथा लेखेका छन्।
बोनसमा पाएको जीवनले बनायो डाक्टर
डा. केसी कान्छो छोरा हुन्। उनी जन्मिँदा मात्रै एक किलोका थिए, एउटा हल्केलामा अट्न सक्ने। उनलाई गाउँमा कसैले बाँच्छ भनेका थिएनन्। तर आमाको स्याहारले उनी बाँचे।
कसैले बाँच्दैन भनेका उनी विस्तारै हुर्किए, स्कूल जान थाले। त्यही बेला बुवाले भनेका थिए, ‘तेरो जिन्दगी तेरो लागि बोनस हो। तँ पछि ठूलो भएर डाक्टर बन्नुपर्छ र अरुको ज्यान बचाउनु पर्छ।’
बुवाले त्यसो भनेपछि त्यही बेला डाक्टर बन्ने अठोट लिएको बताउँछन् उनी। ‘बुवाले डाक्टर नै बन्नु पर्छ भनेर होला दिमागमा डाक्टर बन्ने भन्दा अरु ख्याल नै आएन।’
२०५५ सालमा सुर्खेतको एसओएस विद्यालयबाट पास गरेपछि उच्च शिक्षाका लागि उनी काठमाडौं आए। लैनचौरस्थित निष्ट कलेजबाट प्लस टू सकेपछि एमबीबीएसको तयारी गरे।
दुर्गम क्षेत्रको कोटामा केही छात्रवृत्ति पाएर नेपालगञ्ज मेडिकल कलेजमा एमबीबीएस पढेपछि उनलाई बालरोगमा विशेषज्ञता हासिल गर्ने मन हुन्छ। बालबालिकाप्रति निकै झुकाव भएको बताउने उनी त्यसपछि बालरोगमा विशेषज्ञता हासिल गर्न फिलिपिन्स जान्छन्।
आफ्नै गाउँ फर्की आए
फिलिपिन्सबाट फर्किएपछि करिब ६ महिना पाल्पाको मेडिकल कलेजमा पढाउँछन् उनी। त्यसबेलासम्म गाउँ फर्किएर उतै बस्छु भन्ने सोचेका थिएनन् उनले।
तर बिदामा घर गएको बेला उनी कर्णाली प्रदेश अस्पताल पुग्छन्। जहाँ उनले देख्छन् जम्मा ४ डाक्टर छन् र अव्यवस्थित अस्पताल।
घर नजिकैको अस्पतालको त्यस्तो हालत देखेपछि सुगममा बसेर आफ्नो ठाउँलाई त्यस्तै रहन नदिने अठोट गर्छन् उनी। अनि फर्किन्नन् पाल्पा।
बालमृत्युदर, मातृमृत्युदर र कुपोषण उच्च देख्छन्। त्यसमा सुधार ल्याउन किरिया खान्छन्।
‘कर्णाली प्रदेश अन्य प्रदेशको दाँजोमा दुर्गम छ,’ उनले भने ‘त्यहाँका बालबालिकाको मृत्युदर, कुपोषणदर र स्कुल छोड्नेदर पनि धेरै छ। समग्रमा अन्य प्रदेशका बालबालिका भन्दा कर्णाली प्रदेशका बालबालिका ‘लो’ नै छन्। तर विस्तारै सुधार हुँदैछ।’
सात वर्ष कर्णाली प्रदेश अस्पतालमा काम गरेपछि उनी अहिले कर्णाली केयर अस्पतालमा आवद्ध छन्। अस्पतालमा आउने धेरैजसो बालबालिकामा निमोनिया, ट्यूमर कोलोसिस र कुपोषणको समस्या रहेको उनी बताउँछन्।
राज्यले कुपोषित बालबालिका र आमामाथि ठुलो लगानी गर्नुपर्ने उनको भनाइ छ।
‘आमा नै कुपोषित भएका कारणले बच्चाहरु कुपोषित जन्मिन्छन्। राज्यले यी दुई वटा विषयमा लगानी गर्न जरुरी छ,’ उनी भन्छन् ‘तर राज्यले खर्च गरेको सम्झनु हुँदैन, यो त लगानी हो। यी दुई विषयमा लगानी गर्यो भने राज्यलाई धेरै प्रतिफल दिन्छ।’
कर्णालीमा बालविवाहबाट सानै उमेरमा आमा बनेका पनि थुप्रै महिला देखेका छन् उनले। अझै समाजमा महिला स्वास्थ्यमाथि जनचेतना पुगाउन राज्य विफल देखिएको तर्क उनको छ। सानै उमेरमा विवाह भएर गर्भवती हुने र त्यसकारण उमेर नपुगी अस्वस्थ बच्चा जन्मिने गरेको उनी बताउँछन्।
विद्यावारिधिले डाक्टर, जीवनवारिधिले लेखक
लामो समयदेखि दुर्गममै बसेर काम गर्दा उनले त्यहाँ जुन पीडा र भोगाइ देखे त्यो डाक्टरीका मोटा–मोटा किताब र विद्यावारिधि गरेका प्राध्यापकहरुले पढाएका थिएनन् उनलाई।
जब स्वास्थ्य शिविर लिएर गाउँ–गाउँमा जान्थे, जहाँ उनको भेट प्रध्यापकसँग हुन्थ्यो, विद्यावारिधि होइन जीवनवारिधि गरेका प्रध्यापक। गाउँमा संघर्ष गरेका मानिसबाट उनले धेरै ज्ञान आर्जन गरे। उनीहरुको संघर्ष नै विश्वविद्यालयभन्दा कम लाग्थेन नवराजलाई। अनि त्यसलाई पुस्तकमा समेट्ने सोच बनाए उनले र लेखे ‘शून्यको मूल्य’।
पुस्तकमार्फत आमामा गरेको लगानीले अर्थतन्त्रमा ल्याउने सुधार, समाज र देशको विकास देखाउने प्रयास गरेको बताउँछन् उनी।
‘कोही सबै भेँडा बेचेर हुम्लाबाट हेलिकोप्टर चार्टर गरेर उपचारका लागि हामीकहाँ आउँथे,’ उनले भने ‘उपचारका लागि नियमित आउने पात्र र गाउँ पुग्दा देखिएका दृश्य किताबमा समेट्ने प्रयास गरेको हुँ।’
मानिसको जीवनमा साना साना कुराले ठूलो परिवर्तन ल्याउने उनी बताउँछन्। औषधि मात्रै बाँड्दैनन्, बिरामीका समस्या पनि सुन्छन् उनी। अनि ती समस्या सुधार गर्न सक्दो प्रयास गर्छन्। आफ्नो कारण बिरामीको जीवनमा आउने सुधारले खुसी हुन्छन् उनी।
‘यसैगरी बिताइदिन्छु दुई दिनको जिन्दगी’
कर्णालीकै कुनाकन्दरामा यसैगरी जीवन बिताउने सोच उनको छ। कर्णालीका पीडा बाँडेर बस्ने उनको योजना छ।
भन्छन्, ‘मेरा धेरै योजनाहरु हुँदैनन्। यसैगरी जीवन बिताउने मन छ। मेरो सधैँ हुने योजना बिरामीलाई ठीक बनाउनु हो।’
कर्णालीका सानासाना अस्पतालको सुधार गर्ने प्रयत्न उनको छ। अब कालिकोट र जाजरकोटका जिल्ला अस्पताल पुगेर काम गर्ने योजना बनाएका छन्। धेरै डाक्टर कर्णाली जानै नमान्ने, उता भएका पनि सरुवाको दौडधूपमा लागिरहेको बेला यही प्रश्न उनीमाथि तेस्र्याउँदा मुस्कुराउँदै भन्छन्, ‘मलाई कृत्रिम कुराले छुँदैन।’
भविष्य, करियर, पद कृत्रिम वस्तु भएको मान्यता उनको छ। आत्मसन्तुष्टि सबैभन्दा ठूलो चिज भएको उनी बताउँछन्।
भन्छन्, ‘मेरो प्रयत्नले समाजमा केही रुपान्तरण भयो भने त्यही महत्वपूर्ण कुरा हो। अन्तिममा हामी सबै माटो हुने हो। तर जानुभन्दा पहिले समाजमा केही सकारात्मक सुधार गर्ने प्रयास गर्छु। मलाई कृत्रिम कुराको लोभ छैन।’
भिडिओ : विशाल कार्की/नेपालखबर
प्रतिक्रिया