आज (आइतबार) देशका पहाडी भेगमा मेघगर्जन/चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भेगका थोरै स्थानमा र देशका बाँकी प्रदेशको पहाडी क्षेत्रका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना छ। यसबाहेक दिउँसो देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) रही बाँकी स्थानमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ।
महाशाखाको बुलेटिनअनुसार राति भने कतै वर्षाको सम्भावना छैन। राति देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ।
आज काठमाडौँ उपत्यकामा वर्षाको सम्भावना?
महाशाखाका मौसमविद् गोविन्दकुमार झाका अनुसार आज काठमाडौँ उपत्यकामा वर्षाको सम्भावना छैन। ‘आंशिक बदली (थोरै आकाशमा बादल) भने छ’, उनले भने।
यसैबीच आज बिहान ५:४५ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३ डिग्री सेल्सियस छ। यो अहिले बिहान ८:४५ बजे पुनः अपडेट गरिनेछ भने त्यतिबेला मौसम महाशाखाले देशका अन्य स्थानका न्यूनतम तापक्रम विवरण पनि सार्वजनिक गर्नेछ।
Shares
प्रतिक्रिया