ad ad

समाज


झिटिगुन्टा र यात्रुले खचाखच थियो बैतडीमा दुर्घटना भएको जिप

झिटिगुन्टा र यात्रुले खचाखच थियो बैतडीमा दुर्घटना भएको जिप

दुर्घटना हुनु पहिलेको जिपको तस्वीर


नेपालखबर
चैत २९, २०७९ बुधबार ९:१२, काठमाडौँ

बैतडीमा जिप दुर्घटना हुँदा एकै गाउँका ६ जनाको मृत्यु भएको छ। ५ यात्रुले हाम फालेर ज्यान जोगाएका छन्।

मंगलबार मध्यराति पाटन नगरपालिका–८ झौलेक मोडमा से १ ज ७६४ नम्बरको जिप सडकबाट पाँच सय मिटर तल खसेको थियो।

उक्त जिपमा सवार सबै यात्रु बझाङको केदारस्युँ गाउँपालिका–५ बाज र चौडीका थिए।

भारत उत्तराखण्डको पिथौरागढ बजारमा ज्याला मजदुरी गर्ने उनीहरू बिशु (नयाँ वर्ष) मनाउन घर फर्किएपछि सीमावर्ती बजार झुलाघाटबाट जिप चढेका थिए। उक्त जिप यात्रु र सरसामानले भरिभराउ थियो।

झुलाघाटबाट सदरमुकामस्थित गोठलापानी पुग्दा एक जना स्थानीयले उक्त जिपको तस्वीर खिचेको भेटिएको छ। 

तस्वीर उक्त जिपमा सरसामान भरिभराउ देखिन्छ। ‘ओभरलोड’ का कारण दुर्घटना भएको र झुलाघाटबाट खोडपे पार गर्दा बाटोमा ट्राफिक प्रहरीका कैयौं  पोष्ट भएपनि चेकिङमा लापरबाही गरिएको भन्दै प्रहरीको आलोचना भइरहेको छ।

दुर्घटनामा ६ जना यात्रुको घटनास्थलमै मृत्यु भएको थियो। ५ जनाले हाम फालेर ज्यान जोगाएका थिए। उकालो सडकमा जिप ब्याक भएको चाल पाएपछि आफूहरूले हाम फालेर ज्यान जोगाएको जिपमा सवार महेश बोहराले बताए।

दुर्घटनाग्रस्त जिपका चालक फरार छन्। घटनास्थलबाट शव झिकेर सडकमा राख्ने काम भइरहेको छ। मृतकका आफन्त पनि घटनास्थल पुग्दै गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

दुर्घटनामा बझाङको केदारस्युँ गाउँपालिका–५ का मने बोहरा, गोरख बोहरा, नरे बोहरा, बिर्ख बोहरा, मान बहादुर धामी र बिरे बोहराको मृत्यु भएको छ। जिपमा चालकसहित १२ जना सवार थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .