ad ad

समाज


भत्किएका छाउगोठभित्र नभत्किएका मन

भत्किएका छाउगोठभित्र नभत्किएका मन

हेमन्त केसी
पुस २२, २०७६ मंगलबार ९:५,

जुनिचाँदे गाउँपालिका–८ की सुमित्रा खड्कालाई छाउगोठ भत्काउने खबर सुन्दा असाध्यै खुशी लागेको छ। सामाजिक कुरीतिका रुपमा रहेको छाउगोठ बस्ने प्रचलन खड्काले आमाबाट सिकेकी थिइन्।

पुस्ता हस्तान्तरण जस्तै गरी कुसंस्कार पनि आमाबाट छोरी, छोरीबाट नातिनीसम्म पुग्ने गरेको छ। अहिले सुमित्रा जस्तै गाउँका अधिकांश महिला छाउगोठ भत्काएर विगतको कुसंस्कारलाई सधैँका लागि अन्त्य गर्ने योजनामा छन्। गाउँमा पढेलेखेका युवा यो अभियानमा लागे पनि अघिल्लो पुस्ता भने छाउगाठ भत्काउने अभियानमा सक्रियताका साथ सहभागी भएको देखिएको छैन। अघिल्लो पुस्ताले अझै देवता रिसाउने र अनिष्ट हुने भन्दै झिनो स्वर उठाउँदै आएका छन्।

शिक्षित परिवारकै घरमा छाउगोठ भत्काइए पनि घरभित्रको चुलो पूजास्थलमा भने महिनावारी हुँदा जान पाइँदैन। ‘शिक्षकहरुले विद्यालयमा छाउलाई कुप्रथा भन्दै कक्षाकोठामा पढाउँछन् तर घरमा जाँदा छोरी, बुहारी र श्रीमतीलाई महिनावारी हुँदा सात दिनसम्म मूल कोठाको प्रवेशमा रोक लगाउँछन्, अनि कसरी हुन्छ परिवर्तन?’ जुनिचाँदे –७ का रामबहादुर खड्काले भने।

उनले भने, ‘आत्मादेखि हाम्रा सोच, विचार र संस्कारहरु बदल्न जरुरी छ, शिक्षक आफैँ धामी छ, दैनिक छिमेकीको घरमा देवता निकालेर बिरामीलाई भूत, प्रेत र बोक्सी लागेको भन्दै हिँड्छ।’

जिल्ला प्रशासन कार्यालयले छाउ बस्ने र बस्न बाध्य पार्नेलाई सरकारी सेवासुविधा रोक्ने भन्दै सदरमुकाममा प्रचार गरे पनि त्यो सूचना गाउँगाउँमा पुग्न सकेको छैन। छाउगोठ भत्काउन शुरु गरिए पनि मानिसभित्र रहेको चेतना परिवर्तन नभएसम्म महिनावारी हुँदा भान्सा बस्न नपाउने तथा दूध, दही, मही, घ्यू खान नपाउने अवस्था ज्यूँका त्यूँ रहन्छ। अहिले पनि छाउगोठ भत्किए तर नागरिकका चेतना परिवर्तनका लागि भत्किएका छैनन्। अहिले पनि महिलाले दुःख पाइरहेका छन्। जिल्लाका अन्य ठाउँमा छाउगोठ नभए पनि महिनावारी हुँदा आगो बाल्ने चुलोसम्म जान नपाउने अवस्था विद्यमान छ।

देवता रिसाउने भन्दै मूल चुलो भएको कोठा र देवताका ध्वजा, पताका भएको ठाउँमा महिनावारी भएको समयमा जान नपाउने अवस्था निरन्तर चलिरहेको डोल्पा मुड्केचुला गाउँपालिका–८ का विष्णु सिंहले जानकारी दिए। उनले भने, ‘सदरमुकाममा हल्ला गर्दैमा ग्रामीण क्षेत्रमा सबै परिवर्तन हुँदैन, हाम्रो ठाउँमा कसले सचेतनाका कार्यक्रम गर्छ र सबैले थाहा पाऊन्?’ उनी जस्तै अधिकांश गाउँका महिला पुरुषका कारण हेपिएका छन्। उनीहरुले सामाजिक कुसंस्कारका रुपमा रहेको परम्परालाई तोड्न खोज्दा अलच्छिना भनेर पगरी गुथाई अपहेलना गरिएको पञ्च भयार मावि नलगाड नगरपालिका–८ की शिक्षिका नन्दा शाहीले बताइन्। उनले भनिन्, ‘परम्पराका नाममा ठूलो ज्यादती रहेको छ, गोठ भत्काएको खबर त सुनियो तर मनमा विगतदेखि पत्थर भएर बसेको परम्परालाई मनबाट हटाउन जरुरी छ।’

राज्यको मात्र दायित्व नभई सबै सचेत नागरिकले समाजमा भएका गलत मान्यतालाई हटाउनका लागि संगठित भएर लाग्नुपर्ने नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलले बताए। उनका अनुसार जनयुद्धमा समेत यस्ता खालका विकृति हटाउने सबै खालका कारवाही गरिएको थियो, सो समयमा छाउगोठ बस्ने, छुवाछूत व्यवहार हटाउनका लागि जनकारवाहीसम्म गर्ने गरी यसको न्यूनीकरण गरिएको थियो। उनले अहिले समाज खुला भएकाले जसले जे गरे पनि मतलब नभएको गुनासो गरे। ‘कुसंस्कारको विरुद्धमा बोल्ने सबैजना संगठित भएर गलत संस्कारका विरुद्ध एक जुट भई लागे यस्ता खालका गतिविधि शून्यमा झार्न सकिन्छ’, उनले भने। जाजरकोट र डोल्पाका अधिकांश गाउँमा अहिले पनि सञ्चारमाध्यमको पहुँच नहुँदा त्यहाँ सचेतनाका कार्यक्रमले छुन सकेको छैन। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .