ad ad

समाज


काठमाडौँसहित देशका केही स्थानमा हावाहुरीको सम्भावना

काठमाडौँसहित देशका केही स्थानमा हावाहुरीको सम्भावना

फाइल तस्बिर


नेपालखबर
बैशाख ९, २०८० शनिबार ७:१९, काठमाडौँ

आज पनि काठमाडौँ उपत्यकासहित देशका केही स्थानमा हावाहुरी आउने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज अपराह्नपछि पश्चिम तराईका केही र पहाडी क्षेत्रका थोरै स्थानमा हावाहुरी आउने सम्भावना देखिएको हो। 

‘आज काठमाडौँ उपत्यकामा पनि हावाहुरी, मेघगर्जन, चट्याङको सम्भावना छ’, मौसमविद् मानन्धरले भनिन्, ‘हिजोजत्तिकै हावाहुरी त नआउला, तर जे होस् आज पनि हावाहुरीको सम्भावनाचाहिँ छ।’

उनका अनुसार आज काठमाडौँ उपत्यकामा हल्का/क्षणिक वर्षाको सम्भावना पनि छ।  

आज दिउँसो कोशी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भेगका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार राति देशका पहाडी भेगका एक दुई स्थानमा मात्र मेघगर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना छ। 

गर्मी घट्यो

मौसमविद्का अनुसार हिजोदेखि लगभग देशभरि नै गर्मी कम भएको छ। मौसम बदली र वर्षाका कारण तापक्रम केही ओरालो लागेको हो। 

मौसम महाशाखाको विवरणअनुसार ४० डिग्रीभन्दा माथि पुगेको नेपालगन्जको अधिकतम तापक्रम शुक्रबार ३२ डिग्री सेल्सियसमा झरेको छ। यस्तै काठमाडौँ उपत्यकाको तापक्रम पनि अहिले घटेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्। 

‘आज काठमाडौँ उपत्यकाको अधिकत तापक्रम २८–३० डिग्रीसम्म मात्र पुग्ने अनुमान गरेका छौँ’, उनले भनिन्, ‘उपत्यकामा न्यूनतम तापक्रम पनि घटेको छ, हिजो १७ डिग्री रहेकामा आज बिहान यहाँको न्यूनतम तापक्रम १२ डिग्री मात्र छ।’  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .