आज (शनिबार) काठमाडौँ उपत्यकासहित देशका पहाडी भेगमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भेगका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना छ। महाशाखाका मौसमविद् रोजन लामिछानेले यसमा वर्षाको अलि बढी सम्भावना सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भेगमा देखिएको जानकारी दिए।
‘आज दिउँसो तथा राति काठमाडौँ उपत्यकामा पनि हल्का वर्षाको सम्भावना देखिएको छ’, मौसमविद् लामिछानेले भने। उनका अनुसार आज काठमाडौँ उपत्यकाको मौसम घाम, बादल, घाम, बादल हुने देखिएको छ।
यसैगरी पश्चिम तराईका एक दुई स्थानमा पनि आज पानी पर्ने सम्भावना छ। ‘तर वर्षाको सम्भावना अलि कम नै छ’, मौसमविद् लामिछानेले भने, ‘लुम्बिनी प्रदेशको तराईका एक दुई स्थानमा हल्का वर्षा हुनसक्छ।’
महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज राति गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना छ।
मौसमविद्का अनुसार एक दुई स्थानमा मात्र वर्षाको सम्भावना देखिनु भनेको पानी पर्ने सम्भावना कम हुनु हो।
Shares
प्रतिक्रिया