ad ad

समाज


एक वर्षमा एक लाख २० हजार पर्यटक पुगे बन्दीपुर

एक वर्षमा एक लाख २० हजार पर्यटक पुगे बन्दीपुर

नेपालखबर
पुस २४, २०७६ बिहिबार ९:३६,

सन् २०१९ मा एक लाख २० हजार पर्यटकले तनहुँको पर्यटकीय नगरी बन्दीपुरको भ्रमण गरेका छन्। स्वदेशी तथा विदेशी गरी एक लाख २० हजार पर्यटकले बन्दीपुरको भ्रमण गरेको बन्दीपुर पर्यटन विकास समितिले जानकारी दिएको छ।

बन्दीपुर भ्रमण गर्नेमध्ये ७५ प्रतिशत स्वदेशी र २५ प्रतिशत विदेशी पर्यटक रहेको समितिका अध्यक्ष वैश गुरुङले जानकारी दिए। उनका अनुसार यस अवधिमा ९० हजार स्वदेशी र ३० हजार विदेशी पर्यटकले बन्दीपुरको भ्रमण गरेका छन्। गत वर्ष पनि यही हाराहारीमै स्वदेशी तथा विदेशी पर्यटक बन्दीपुर पुगेको समितिले जनाएको छ।

विसं २०७२ को भूकम्पपछि प्रत्येक वर्ष बन्दीपुर घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ। ‘भूकम्प गएको केही समय बन्दीपुर सुनसानजस्तै बन्यो, पर्यटकको चाप निकै कम थियो’, उनले भने, ‘अहिले बन्दीपुरमा पर्यटकको चाप राम्रो छ।’ बन्दीपुरमा अमेरिका, थाइल्याण्ड, चीन, भारत, कोरिया र युरोपेली मुलुकका धेरै पर्यटक आउने गरेका छन्।

बेमौसममा बन्दीपुरमा चिनियाँ पर्यटक अत्यधिक रहने गरेका छन्। बास नबसे पनि भ्रमणका लागि मात्रै आउने पर्यटकमध्ये चिनियाँ पर्यटक बढी रहने गुरुङले जानकारी दिए। हाल बन्दीपुरमा दैनिक ५०० भन्दा बढी पर्यटक भ्रमणका लागि आउने गरेका छन्।

बन्दीपुरमा स्वदेशी तथा पर्यटकको आगमन बढ्न थालेपछि व्यवसायीले सुविधासम्पन्न होटल खोल्ने क्रम वृद्धि भएको छ। होटल व्यवसायीसमेत रहेका पर्यटन विकास समितिका अध्यक्ष गुरुङले हालै मात्र रु आठ करोडको लगानीमा होटल दरबार हिमालय सञ्चालनमा ल्याएका छन्।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी हाल बन्दीपुरमा ९÷१० होटल निर्माणाधीन अवस्थामा रहेको छ। नेपाल भ्रमण वर्ष २०२० मा बन्दीपुरमा दुई लाख ५० हजार पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ। बन्दीपुरमा हाल हिमालय दरबार, ग्रिनपार्क, फेवा, गाउँघर, वल्र्ड इन, बन्दीपुर प्यालेस, मगर भिलेजलगायत साना ठूला गरी ५७ होटल तथा २२ घरवास सञ्चालनमा छ। ती सबै होटलमा एकै पटक एक हजार ३०० देखि एक हजार ४०० पर्यटकले रात बिताउन सक्नेछन्।

बन्दीपुर घुम्न आउने पर्यटकलाई यहाँका पर्यटकीय एवं ऐतिहासिकस्थलका बारेमा जानकारी दिने गरिएको छ। बन्दीपुरमा ढुंगाले छापेको बाटोबाट सवारी साधन जान निषेध गरिएको र पुराना घरहरु भएकाले पनि विदेशीहरु आकर्षित हुने गरेका छन्।

बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छे«, धवलागिरिलगायतका हिमशृङ्खला देखिन्छ। भक्तपुरे शैलीमा निर्माण गरिएको घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रविन्दु बन्ने गरेको छ।

कोलाहल, धुँवाधुलोबाट केही टाढा घुम्न जाने सोच बनाएकालाई बन्दीपुर उत्कृष्ट गन्तव्यको रूपमा विकास भइरहेको छ। सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ। यहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ। प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ«े, धवलागिरिलगायतका हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने जोकसैको मन लोभिने गर्दछ।

बन्दीपुर घुम्न निम्तो

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी बन्दीपुर गाउँपालिका, पर्यटन विकास समिति, क्षेत्रीय होटल संघले बन्दीपुर घुम्न निम्तो दिन देशका प्रमुख शहरमा कार्यक्रम गर्ने योजना बनाएको छ। नेपाल भ्रमण वर्ष २०२० मा उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने योजनासहित देशका प्रमुख शहरमा माघ महिनामा कार्यक्रम गरी बन्दीपुर घुम्न निम्तो दिइने गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए।

पर्यटन प्रवद्र्धनका लागि बन्दीपुरमा दौड

नेपाल भ्रमण वर्षको अवसर पारेर बन्दीपुर गाउँपालिकाले दौड प्रतियोगिताको तयारी गरेको छ। पर्यटकीय नगरीको रूपमा परिचित बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्दै भ्रमण वर्षको प्रचारका लागि गाउँपालिकाले दौड प्रतियोगिताको तेस्रो संस्करण आयोजना गरेको हो।

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन र बन्दीपुरको पर्यटनलाई विश्वमाझ चिनाउन दौड प्रतियोगिता गर्न लागिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए। माघे सङ्क्रान्ति पर्वको अवसर पारेर माघ १ गते दौड प्रतियोगिता हुँदैछ। थापाले भने, ‘दौडले व्यक्तिको शारीरिक विकासको साथसाथै बन्दीपुरको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास गरेका छौँ।’

गाउँपालिका वडा नं १ डुम्रे बजारदेखि वडा नं ४ टुँडिखेलसम्मको आठ किमी दूरीको दौडमा आन्तरिक र खुला धावक सहभागी हुन सक्नेछन्। आन्तरिकतर्फ गाउँपालिकाभित्र बसोबास गर्ने धावकलाई सहभागी गराइने र खुलामा देशभरका धावक सहभागी हुन सक्नेछन्।

खुलातर्फको दौडमा प्रथम र द्वितीय हुनेलाई क्रमशः रु ३० हजार र रु १५ हजार साथै आन्तरिकतर्फको दौडमा प्रथम र द्वितीय हुनेलाई क्रमशः रु १५ हजार र रु सात हजार नगद प्रदान गरिने गाउँपालिकाका अध्यक्ष थापाले जानकारी दिए। आन्तरिक र खुला गरी करीब २०० धावक सहभागी हुने अनुमान गरिएको छ। गत वर्ष आयोजित प्रतियोगितामा ९० धावकले सहभागिता जनाएका थिए।

‘खेलकूदको माध्यमबाट पनि बन्दीपुरमा पर्यटक भित्र्याउन प्रत्येक वर्ष माघे सङ्क्रान्तिमा दौड प्रतियोगितालाई निरन्तरता दिन्छौँ’, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि सापकोटाले भने। प्रतियोगिता सम्पन्न गर्नका लागि करीब रु चार लाख खर्च हुने अनुमान छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .