ad ad

समाज


जनकपुरमा नक्कली बम आतंक !

जनकपुरमा नक्कली बम आतंक !

शैलेन्द्र महतो
पुस २४, २०७६ बिहिबार १२:३,

बिहीबार बिहान जनकपुरधाम उपमहानगरपालिका २४ बसहियामा दक्षिणकाली मन्दिर छेउको सडकमा बोराको पोको फेला पर्यो।स्थानीयहरुले बम हुन सक्ने आशंका गर्दै प्रहरीलाई यसबारेमा जानकारी गराए। तत्कालै जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली त्यहाँ पुग्यो।

शंकास्पद बस्तु बम हुन सक्ने आशंकामा प्रहरीले त्यो पोकाको नजिक कसैलाई पनि जान दिएन। त्यसवरपर स्थानीयलाई आबत जाबतमा समेत रोक लगाए। सयौँको भिड जम्मा भयो। प्रहरीको आग्रहपछि शंकास्पद वस्तु डिस्पोज गर्न नेपाली सेनाको बम डिस्पोजल टोली पनि त्यहाँ पुग्यो। डिस्पोजका क्रममा दुई घण्टासम्म त्यो बाटो नै अवरुद्ध भयो।

सेनाको टोलीले शंकास्पद मानिएको त्यो पोका डिस्पोज गर्यो। तर, भित्रको शंकास्पद वस्तु बम थिएन। मरेपछि बोरामा राखेर फालिएको बाख्रा थियो।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक अशोक झाले स्थानीयले खबर दिएपछि प्रहरी त्यस स्थलमा गएको र नेपाली सेनालाई बोलाएर डिस्पोज गर्दा गर्दै २ घण्टाभन्दा बढी समय लगेको बताए। ‘शंकास्पद बोराको पोकालाई डिस्पोज गर्दा त्यसभित्र मरेको बाख्रा फेला परेको छ’ उनले भने।

यसअघि धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५, स्थित राजेश साहको घरमा मंसिर २७ गते राति राखिएको शंकास्पद बस्तु विस्फोट भएको थियो। केही पनि होइन भन्दै ईलाका प्रहरी कार्यालय सखुवमा महेन्द्रनगरका प्रहरी निरीक्षक अमिर दहालसहित पुगेका टोली नजिक गएको बेला विस्फोट हुँदा उनीसहित ३ जनाको ज्यान गएको थियो। घरधनी राजेश साह, उनका छोरा आन्नद साहको पनि ज्यान गएको थियो भने राजेशका बुबा, कान्छो छोरा, दुई छोरी र एक प्रहरी जवानसमेत घाइते भएका थिए।

त्यस घटनाबाट त्रसित बनेका सर्वसाधारण कतै कुनै पोका वा थैलो फेला पर्दा शंकास्पद वस्तु बम हुन सक्ने आशंकामा सशंकित हुने गरेका छन्।

घटनाको भोलि पल्टै जनकपुरधाम उपमहानगरपालिका–९, संकटमोचन मन्दिरको पछाडि सडक छेउमा कुकर जस्तै शंकास्पद बस्तु फेला परेको थियो। तर, नेपाली सेनाले डिस्पोज गर्दा कुकर भित्र ईट्टा र ढुंगा फेला परेको थियो। त्यसको भोलिपल्टै जनकपुर उपमहानगरपालिका– ९, स्थित सरस्वती उच्च माविको छेउको सडकमा अर्को प्लास्टिकको पोका फेला पर्यो। नेपाली सेनाले त्यसलाई पनि डिस्पोज गर्द त्यो फोहोरको पोका भएको खुलासा भयो।

त्यसको एक सातापछि जनकपुरको जानकी मन्दिरदेखि मिल्स एरिया जाने सडकमा पनि शंकास्पद पोको फेला परेको थियो। स्थानीयले शंकास्पद वस्तु भनेर पहरी बोलाए। प्रहरी पुगेर नेपाली सेनाको बम डिस्पोज टोली बोलाए। डिस्पोज गर्दा त्यो लुगाकपडा भएको झोला भएको पुष्टि भयो।

मंगलबार बिहान जनकपुरको सीताचोकस्थित एउटा मासु पसलभित्र सुटकेस फेला पर्यो। स्थानीयले बम भनेर प्रहरी गुहारे। नेपाली सेना आएर डिस्पोज गर्दा केही फेला परेन। यस्तै धनुषाकै कयौं स्थानमा फेला परको शंकास्पद वस्तु बम भएको पुष्टि भएन।

तर, महेन्द्रनगरमा तीन जनाको ज्यान जाने गरी भएको बम काण्डले अझै स्थानीयहरु त्रसित रहेका छन् । केही उच्छृखल गतिविधि गर्नेहरु नक्कली बमको आतंक मच्चाएर जनतालाई त्रसित गर्ने काम गरिरहेको प्रहरीको दावी छ। तर, पनि विगतमा भएको घटनाले शंकास्पद वस्तुबाट सबै सतर्क हुन प्रहरीले आग्रह गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .