आगलागीबाट जलेर मृत्यु भएका अर्घाखाँचीको भूमिकास्थान नगरपालिका २ ढाकाबांगका चार जनाको सामूहिक अन्त्येष्टि गरिएको छ।
खाकाबेसीको बघमारे घाटमा मृत्यु भएकाहरुको बिहीबार सामूहिक दाहासंस्कार गरिएको हो।
मंगलबार दिउँसो भूमिकास्थान नगरपालिका २ तिरतिरे गाउँमा सल्किएको आगो निभाउने क्रममा ५ जना घाइते भएका थिए।
त्यसमध्ये गम्भीर घाइते ४ जनाको उपचारको क्रममा र बाटोमा मृत्यु भएको थियो।
गम्भीर घाइते भएका भूमिकास्थान २ तिरतिरे गाउँका ७२ वर्षीय पिताम्बर वेल्वासेको उपचारका लागि लैजाँदै गर्दा पाल्पाको रामपुरमा र ५५ वर्षीय पदम वेल्वासेको नारायणघाट नजिकै मृत्यु भएको थियो।
५२ वर्षीय घनश्याम वेल्वासे र ३६ वर्षीय माधव वेल्वासेको काठमाडौं कीर्तिपुरको बर्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
आगलागीमा घाइते भएकी २६ वर्षीय अस्मिता बेल्वासेको अवस्था सुधारोन्मुख छ।
उनको पाल्पाको मिसन अस्पतालमा उपचार भइरहेको छ।
सामूहिक दाहसंस्कारका आज दिउँसो बागमारे घाटमा १ हजारभन्दा बढी सहभागी थिए।
चारजनाको उपचारको क्रममा मृत्यु भएपछि सिंगो तिरतिरे शोकमा डुबेको छ।
Shares
प्रतिक्रिया