ad ad

समाज


३५ किलो चाँदीसहित तीन जना पक्राउ

३५ किलो चाँदीसहित तीन जना पक्राउ

नेपालखबर
जेठ ११, २०८० बिहिबार १७:८, काठमाडौँ

सुन चाँदीका गहना चोरीमा संलग्न गिरोहका तीन जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ।

विराटनगर क्षेत्रमा श्रृंखलाबद्ध रुपमा चोरी कार्यमा संलग्न उनीहरुको साथबाट प्रहरीले ३५ किलो चाँदी र ८ ग्राम सुनसमेत बरामद गरेको छ।

पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–१२ वस्ने वर्ष २१ को राज कुमार कामत, वर्ष १९ को विवेक कामत र वर्ष २२ को श्रीकान्त दास रहेका छन्।

उनीहरुको साथबाट ३५ केजी चाँदी, ८ ग्राम सुन, भारू २ हजार पाँच सय, नेरू १ हजार ७३०र मोबाइल २ थान बरामद भएको छ।

प्रकाउ परेका व्यक्तिहरु मध्ये विवेक कामत चोरी मुद्दामा २०७९ साउन २२ गते देखि ९ महिनाको सजाय भुक्तान गरेर मिति गत वैशाख २८ गते छुटेका थिए भने श्रीकान्त दास समेत डाँका चोरी मुद्दामा २०७७ पुस २९ गतेदेखि करिब २० महिनाको सजाय भुक्तान गरेर २०७९ असोज ३ गते छुटेका प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार यही जेठ २ गते विराटनगर महानगरपालिका वडा नं. ३ पिपलचौक स्थित जयकिशोर चौधरीको घर चोरी भएको सूचना सोहि दिनको बेलुका ०९ः४५ बजेको समयमा जिल्ला प्रहरी कार्यालय मोरङको १०० नम्बरमा जानकारी प्राप्त भएको थियो ।

जानकारी प्राप्त हुनासाथ सादा पोसाकमा तथा घटनास्थल मुचुल्का लगायत प्रारम्भिक अनुसन्धानको लागि तत्कालै प्रहरी निरिक्षकको कमाण्डमा प्रहरी टोलीको परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

पीडितका अनुसार उनको घरबाट २० तोला सुन (अन्दाजी मूल्य २० लाख) र ३६ केजी चाँदी (अन्दाजी मूल्य ४१ लाख) जम्मा ६१ लाख बराबरको चोरी भएको थियो।
पीडित जय किशोर चौधरी र खाँ ज्वेलर्सका संचालक ज्योती प्रसाद खाँ सुन चाँदी को कारोवार अन्तर साझेदारीमा गर्ने गरेका थिए जस कारणले उक्त सामानहरु जय किशोर चौधरीको घरमा राख्ने गरेका थिए।

चोरीको अनुसन्धान कार्यको लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट छुट्टै ८ जनाको टोली परिचालनमा गरिएको थियो।

चोरीको अनुसन्धान गर्ने टोलीले विगत ७ दिनदेखि चोरीको घटनालाई सुक्ष्म तवरले अनुसन्धान गर्दै सूचना सकंलन गर्ने तथा निगरानी गर्ने काम गर्दै आएको थियो।

कारागार कार्यालय मोरङ र वाल सुधार गृह मोरङबाट कैद भुक्तान गरेका तथा छुटेका प्रत्येक व्याक्तिहरुको सुक्ष्म तरिकाले अनुसन्धान गरिएको थियो।

पक्राउ परेका तीन जना नै प्रतिवादीहरु छिमेकी हुन्। उनीहरुले पहिलेदेखि नै चोरीको काम गर्दै आएको, पटक पटक चोरी मुद्दामा समेत पक्राउ परेको र योजना बनाए अनुरुप नै जेठ ३ गते पीडितको घरमा उनीहरुमध्ये २ जना विवेक कामत र श्रीकान्त दास चोरी गर्न गएको प्रहरीले जनाएको छ।

लगातार ७ दिनको अनुसन्धान र निगरानीको माध्यमबाट जेठ १० गते रातको अन्दाजी १ बजेको समयमा विराटनगर महानगरपालिका–१२ कोशी प्रोजेक्ट स्थित सडक खण्डमा प्रहरीले उनीहरुलाई पक्राउ गर्न सफल भएको हो।

पक्राउ परेका व्यक्तिहरुले २ वटा कालो भिर्ने ब्यागमा चाँदीको सामान सहित भारततर्फ जाने क्रममा पक्राउ परेका थिए।

चोरी गरेको सुन भारतको जोगवनीमा ७ लाखमा वेचेको कुरा अनुसन्धानबाट खुल्न आएको छ।

चोरी पश्चात हाटखोला स्थित दिव्यरत्न होटेलमा ३ दिन वसेको र त्यसपश्चात भारत तिर गएको अनुसन्धानबाट खुल्न आएको छ।

विगतमा समेत चोरीको मुद्दामा निज व्याक्तिहरु सलंग्न रहेकोले हाल अन्य घरमा चोरी भएका घटनाको सम्बन्धमा समेत अनुसन्धान भइरहेको तथा विवेक कामतको प्रारम्भिक बयानबाट हालसम्म यस्तै प्रकृतीको अन्य घरमा समेत चोरी गरि सकेको बताएकोले थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

उनीहरु बाटोमा कसैले थाहा नपाउने हिसाबले डुल्दै हिँड्ने, डुल्ने क्रममा मुख्य निशाना ताल्चा लगाएको घरमा रहने, बाहिरबाट ताल्चा लगाएको घरमा कुनै माध्यमबाट पर्खाल नाघेर छिर्ने, १ जना घर बाहिरको अवस्था बुझ्न बस्ने, आफूसँग बोकेर ल्याएको वा घरमा नै रहेको रड वा कुनै गर्हौं वस्तुले ताल्चालाई फोड्ने गरेको प्रहरीलाई दिएको बयानमा बताएका छन्।

साथै, घरको सम्पुर्ण कोठाहरु राम्रोसँग खोजतलास गरि सुन चाँदी गर गहना तथा नगद मात्र लिने काम गरेको, घर कोठामा रहको मोबाइल, ल्यापटप तथा ईलेक्ट्रोनिक साधनलाई चलाउने नगरेको, मानिस भिडभाड नहुने समय, छरछिमेकहरु व्यस्त हुने समयमा र घरमा कोही नभएको  समयमा चोरी हुने गरेको समय, घरको ताल्चा फोडेर सम्पूर्ण घरको कोठामा छिरेर सामान चोरी गर्न अधिकतम १५ मिनेट लाग्ने गरेको अनुसन्धानमा खुलेको छ।

चोरी गर्ने उदेश्यले हिँडेका व्यक्तिहरुले घरको पहिचान तथा कुन घरमा चोरी गर्ने भन्ने विषयमा ३,४ दिनको अनुगमन तथा अध्ययन गरेर ताल्चा लगाएको घर र त्यो घरमा प्रशस्त मात्रामा सुन चाँदीको गरगहना र नगद छ भन्ने विश्वासको आधारमा चोर्ने गरेको प्रहरीले जनाएको छ।

चोरी गरेका सामानहरुलाई व्यवस्थापन गर्न कुनै कोठा भाडा खोजेर राख्ने, होटेलहरुमा रुम लिएर २,३ दिन लुकेर वस्ने र घटना अलि साम्य भएपछि मात्र निस्किने, चोरीका सामानहरुलाई भारतको बजारमा लगेर बेच्ने गरेको खुलेको छ।

चोरी मुद्दाको अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको ७ जना प्रहरी अधिकृत सहित प्रहरी कर्मचारीलाई जिल्ला प्रहरी कार्यालयले पुरस्कृत समेत गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .