नक्कली भुटानी शरणार्थी प्रकरणमा आज दोस्रो दिन चार जना सरकारी वकिलले थुनछेक बहस गरेका छन्। सोमबार जनकप्रसाद घिमिरे, सीताराम अर्याल, प्रकाश घिमिरे र दिनेश भट्टराईले बहस गरेका हुन्।
यसअघि आइतबार महेश खत्रीको बहस सकिएको थियो। उनीपछि बहस थालेका जनकप्रसाद घिमिरेले सोमबार टुंग्याए।
अब मंगलबार पनि सरकारी वकिलले नै प्रतिवादीविरुद्ध बहस गर्ने छन्।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस भइरहेको हो। सरकारी वकिलले प्रतिवादीविरूद्ध सुरुमा ३ दिन बहस गरेपछि प्रतिवादीका वकिलको बहस सुरु हुनेछ।
प्रतिवादीका वकिलका लागि ६ दिन समय निर्धारण गरिएको छ। अर्को मंगलबारसम्म प्रतिवादीका वकिलले बहस गर्नेछन्। त्यसपछि बुधबार सरकारी वकिलले जवाफी बहस गरेपछि बुधबार नै न्यायाधीशले थुनछेक आदेश गर्ने छन्।
नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने धन्दामा संलग्न रहेको आरोपमा अहिलेसम्म १८ जना पक्राउ परेका छन्। अरु १२ जना फरार छन्। ३० जनाविरुद्ध अदालतमा अभियोग दायर गरिएको छ।
एमालेका सांसद टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, उनका पिए नरेन्द्र केसी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, सुरक्षाविज्ञ इन्द्रजित राई, पूर्वसभासद आङटावा शेर्पा, केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरूङ, सन्देश शर्मा, सागर राई, शरणार्थी नेता टेकनाथ रिजाल, हज समिति अध्यक्ष शमशेर मियाँ, रामशरण केसी, गोविन्दकुमार चौधरी, लक्ष्मी महर्जन र हरिभक्त महर्जन थुनामा छन्।
उनीहरुविरुद्ध जेठ १० गते ठगी, लिखत कीर्ते, राज्यविरूद्धको कसुर, संगठित अपराध र एकीकृत कसुरमा सरकारी वकिल कार्यालयले अभियोग दायर गरेको छ।
Shares
प्रतिक्रिया