नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका होटल व्यवसायी टंक गुरुङ र ललितपुरकी लक्ष्मी महर्ज धरौटी बुझाएर शुक्रबार नै छुट्ने भएका छन्।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको आदेशअनुसार लक्ष्मी ५ लाख र टंक १० लाख रुपैयाँ धरौट बुझाएर रिहा हुन लागेका हुन्।
अदालतले धरौटी मागेपछि अहिले दुवैजना रकम जुटाउन लागेका छन्। उनीहरुले नातागोता र आफन्तलाई सम्पर्क गरेर धरौटी रकम जुटाइरहेका छन्। यदि धरौटी रकमको ग्यारेन्टी आजै भए उनीहरु दुवैजना रिहा हुनेछन्।
यो प्रकरणमा प्रहरीले पीडितहरुबाट संकलन गरिएको रकम लक्ष्मीको खातामा जम्मा भएको पाइएपछि प्रहरीले प्रतिवादी बनाएर मुद्दा चलाएको थियो।
उनका पति हरिभक्त मर्हजनले सन्देश शर्माबाट लिएको रकम लक्ष्मीको खातामा जम्मा गरिदिएका थिए। त्यहीकारण उनी पनि यो प्रकरणमा मुछिएर प्रहरीको हिरासतसम्म आइपुगेकी थिइन्।
यो प्रकरणमा बिचौलियाका रुपमा रहेका सन्देश शर्मासँग लेनदेन गरेको देखिएपछि पति हरिभक्त महर्जन भने पुर्पक्षका लागि थुनामा जाने भएका छन्।
त्यसैगरी अर्का अभियुक्त टंक गुरुङलाई पनि अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ। टंकले आफ्नो होटललाई यो प्रकरणमा बिचौलियाहरुले रकम उठाउने थलोका रुपमा प्रयोग गर्न दिएको खुलेको थियो।
शुक्रबार भएको जवाफी बहसका क्रममा पनि सरकारी वकिल लक्ष्मण घिमिरेले टंक गुरुङको होटललाई अपराधीको केन्द्रबिन्दु बनाएको बताएका थिए।
‘सबै गतिविधि त्यहीँ बसेर सेटिङ भएका छन्। उनले १० लाख रुपैयाँ लिएर होटललाई क्राइमका लागि प्रयोग गर्न दिएका छन्’, उनले भनेका थिए, ‘सानु भण्डारीले सन्दीप रायमाझीसँग सेयर बेचेको हो भने सन्दीपले सानुलाई पैसा दिनुपर्ने हो यहाँ त सानुले सन्दीपलाई पैसा दिएका छन्।’
यस प्रकरणमा केशव दुलाल र सानु भण्डारीको नाम प्रमुख बिचौलियका रुपमा चर्चित थियो। त्यसैगरी ललितपुरका हरिभक्त महर्जन र लक्ष्मी महर्जन पनि यो प्रकरणमा मुछिएर पक्राउ परेका थिए। पति हरिभक्तलाई थुनामा पठाउने आदेश हुँदा पत्नी लक्ष्मीसँग भने धरौटी मागिएको हो।
Shares
प्रतिक्रिया