केही हप्ता अघिसम्म सामान्य अवस्थामा एकनाश बगिरहेको कमला नदीले असार लागेसँगै आकार बढाइसकेको छ। असारसँगै सुरु भएको वर्षाले कमला नदीमा बढेको पानीको बहावले यहाँको अस्थायी काठेपुल बगाइसकेको छ।
नदीले आकार बढाउँदै गर्दा स्थानीयमा कमला नदीले रौद्ररूप लिन्छ कि भन्ने चिन्ता पनि बढेको छ। त्यसैले नदी किनारका मानव बस्तीमा बस्नेहरू त्रसित बनेका छन्। नदी किनारमा जोखिम बढ्दै जान थालेपछि बगरखेती गर्नेहरू पनि बगर छोड्ने सुरसारमा छन्।
हुलाकी राजमार्ग हुँदै हिँड्ने यात्रुहरूको सङ्ख्या पातलिँदै गएको छ भने नदी किनारमा डुङ्गा खियाउने माझीहरूको सङ्ख्या भने बढ्न थालेको छ। त्यसैमध्येका एक हुन् कमला नगरपालिका–५ धनुषाका ८० वर्षिय माझी ‘बा’ रामसेवक सहनी।
उमेर बुढो भए पनि शरीरमा जोस् भने जवान माझी सरह नै छ। बिहान झिसमिसे नहुँदै कमला नदीको सारस्वरनाथ घाटछेऊ पुग्ने र घाम डुबेपछि मात्रै फर्किने सहनीको दिनचर्या बनेको छ। 'के गर्नु वर्षाका दुई/चार महिना त हो डुङ्गा चलाउन पाउने। यो सानै उमेरदेखि गर्दै आएको काम हो। यही घाटमा डुङ्गा खियाउँदै जीवन बित्यो। ज्यानले साथ दिएसम्म त काम गर्नै पर्यो,' उनले भने।
कमला–५ का ५२ वर्षिय रामेश्वर सहनीको दिनचर्या पनि त्यस्तै छ। नदी किनारमा बिहानदेखि बेकुला आँखाले देखुञ्चेल डुङ्गा खियाउन उनी व्यस्त हुन्छन्। यो दैनिकी आगामी करिब चार महिनासम्म चल्छ।
'देशमा हुँदा नौरदश वर्षको उमेरदेखि यही घाटमा जीवन बितेको छ। बाउबाजेले महेन्द्र राजमार्ग बन्नुभन्दा पहिले बन्दिपुर नजिकै कमला नदीमा डुङ्गा चलाउनुहुन्थ्यो। त्यहाँ पुल बनेपछि यही घाटमा चलाइरहेका छौँ,' सहनीले भने, 'यहाँ पनि कहिलेसम्म चलाउन पाउने हो? भाँसिएको पुल नउठेसम्म त होला!'
वर्षायामका करिब चार महिना डुङ्गा चलाएर प्रतिमहिना दशदेखि बीस हजार आम्दानी हुने उनको भनाइ छ। सहनीका शब्दमा यो रहर नभइ उनको बाध्यता हो। 'पेसा हो लोभ त लाग्छ तर रहरले नभई कमला पुल नबन्दा जनताले भोग्नुपरेको सास्तीका कारण बाध्य भएर डुङ्गा चलाइरहेका छौँ। मैले त १५ वर्षभन्दा बढी समय कतारमा बिताए। रातारात हुने त्यहाँको विकास देखेको छु। यहाँ त पुल नदेखेरै पुस्तौ बित्यो, १२ वर्षअघि पुल बन्न थालेपछि निकै उत्साहित भएका थियौ तर त्यो पनि अलपत्र छ। थप कति वर्ष लाग्ने हो कुनै ठेगान नै छैन,' सहनीको गुनासो छ।
उनीसँगै कक्षा ११ मा अध्ययनरत छोरा हरिदेवकुमार सहनी पनि डुङ्गा चलाउन सिक्दै छन्। बुबाको अनुपस्थितिमा सजिलो होला भनेर फुर्सदको समयमा आफूले पनि डुङ्गा चलाउन सकिरहेको हरिदेवको कथन छ।
'हाम्रो जात नै डुङ्गा चलाउने हो। बुबाले बाजेबाट सिक्नुभयो र मैले बुबाबाट सिक्दैछु। बाजेले कमलामा पुल देख्न पाउनुभएन, बुबाको पालामा पनि बन्छ कि बन्दैन थाहा छैन। के थाहा यस्तै अवस्था रहे मैले पनि डुङ्गा चलाएर बस्नुपर्ने हो किु, हरिदेवले पुलतर्फ हेर्दै भने।
स्थानीय समसुदेन मोहमदले पनि वर्षायाममा नजिकका बस्तीबाट कमला नदी वारपार गर्न डुङ्गाको विकल्प नभएको बताए। उनले वर्षौंदेखि पुल नबन्दा निकै सास्ती खेप्दै जोखिमपूर्ण यात्रा गर्नुपरेको बताए।
'मेरो घर नदी वारीपट्टी सिरहा नगरपालिकामा पर्छ। नातेदारहरू नदी पारी धनुषामा बस्छन्। आउजाउ गर्दा डुङ्गाको विकल्प छैन कि त लामो दूरी पार गरेर जानुपर्छु, मोहम्मद भन्छन्, 'नेताहरू भोट माग्न आउँदा पुल चाँडै बन्छ भन्छन् तर वर्षौ लागेर बनाएको पुल एकै वर्षात्मा भाँसिदा पनि कसैले केही गरेनन्। कहिले बन्ने हो अनुमान नै लगाउन सकिँदैन।'
यो पटक अहिलेसम्म पूर्ण रूपमा वर्षा सुरु भइसकेको छैन। ढिलोचाँडो विगतका वर्षमा झैँ बाढीको बेला आउँदैछ। नदी किनारका बस्तीमा वर्षा सुरु नहुँदै एकप्रकारको ‘त्रास’ छ। त्यस्तै त्रास छ वर्षौदेखि डुङ्गा खियाइरहेका माझिहरूलाई पनि।
'केही समय अर्थोपार्जन गरे पनि पुस्तौपुस्ता पुल नहुँदाको सास्ती सबैले खेप्नुपरिरहेको छ। तपाईंहरूले देखिसक्नुभयो बुढो र कुप्रो शरीर बोकेर बिहानैदेखि नदीमा आउनुभएका माझी बालाई,' उनले भने, 'बुढा बाजस्तै हामीले पनि यहाँ बाढी पर्खेर बसिरहनुपरेको छ। यो रहर नभई बाध्यता हो। पुल नहुनुको बाध्यता !' -रासस
Shares
प्रतिक्रिया