ad ad

समाज


भीरकोट नगरपालिकाका हाकिमले पत्रकारलाई बन्धक बनाए

भीरकोट नगरपालिकाका हाकिमले पत्रकारलाई बन्धक बनाए

नेपालखबर
असार १३, २०८० बुधबार १५:३५, काठमाडौँ

नेपाल पत्रकार महासंघले स्याङ्जा जिल्लाको भीरकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगानाले समाचार संकलनका क्रममा एक पत्रकारलाई बन्धक बनाएको आरोप लगाएको छ।

महासंघ कास्की शाखाका कार्यसमिति सदस्य एवं एबीसी टेलिभिजनकी पोखरा सम्वाददाता गीता रानालाई समाचार संकलनका क्रममा प्रमुख प्रशासकीय अधिकृत ढुंगानाले दुर्व्यवहार गर्दै बन्धक बनाएर प्रहरीको जिम्मा लगाएको महासंघले जनाएको छ।

महासंघ कास्की शाखाका अनुसार उक्त नगरपालिकाका सूचना अधिकारीलाई रिपोर्ट तथा वृत्तचित्र निमार्णबारे आवश्यक जानकारी गराई असार १२ गते मंगलबार नगरपालिका कार्यालयको तस्बिर खिचिरहेको अवस्थामा प्रमुख प्रशासकीय अधिकृत ढुंगानाले किन तस्बिर खिचेको भन्दै पत्रकार रानालाई दुर्व्यवहार गर्दै एक घण्टा कार्यालय परिसरमै बन्धक बनाएर खिचिएको सबै तस्बिर र भिडिओ मेटाएर प्रहरीको जिम्मा लगाएका थिए।

‘स्वतन्त्र रूपमा सञ्चारकर्ममा जुटेका पत्रकारमाथि सार्वजनिक पदमा बसेका जिम्मेवार अधिकारीबाट भएको यस्तो गैरजिम्मेवार हर्कत अत्यन्त निन्दनीय र स्वतन्त्र पत्रकारितामाथिको प्रहार हो’ महासंघले बुधबार विज्ञप्ति प्रकाशित गरी भनेको छ, ‘यो घटनाले संविधानले प्रत्याभूत गरेको पत्रकारको अधिकार र नागरिकको सुसूचित हुने अधिकारमाथि आघात पुगेको महासंघको ठम्याई छ।’

महासंघले पत्रकार रानामाथि भएको यो घटनाको छानबिन गरी दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउन तथा पत्रकारलाई निर्वाध र स्वतन्त्र रूपमा पेशागत अभ्यासमा जुट्ने वातावरण निर्माण गर्न माग गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .