वैदेशिक रोजगारीमा गएका श्रमिकमार्फत सुन तस्करी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।
सोमबार त्रिभुवन विमानस्गलबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गिरोहका १२ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा धनुषाको मिथिला विहार नगरपालिका ५ ललियाका २५ वर्षीय सुनिलकुमार महरा, सिरहा नगरपालिका १७ पटेरवाका २४ वर्षीय दिनेशकुमार यादव, कपिलवस्तुको सुद्धोधन गाउँपालिका ६ बाझखोरका २३ वर्षीय सन्तुगुलाम मुराउ, धनुषाको धनुषाधाम नगरपालिका ५ नौसयविघाका ३४ वर्षीय नरेश पंजियार, बाँकेको राप्ती सोनारी गाउँपालिका ४ बैदापुरका ३६ वर्षीय भुमबहादुर वली, रहेका छन्।
यस्तै, सप्तरी बलानबिहुल गाउँपालिका २ चनहीपथराहका २८ वर्षीय विनोदकुमार साह र विनोदकी पत्नी २५ वर्षीय सन्जुकुमारी साह, सप्तरीको बलानबिहुल गाउँपालिका ६ का २२ वर्षीय दुर्गाप्रसाद यादव, सप्तरीको वोदे वसाइन नगरपालिका १ का २८ वर्षीय देवानन्द साह, सिराहाको लहान नगरपालिका ४ कुमहालका शिवसुन्दर राउत, सिराहाको धनगढी नगरपालिका ३ हनुमाननगरका २३ वर्षीय मोहनकुमार यादव र सर्लाहीको फरहदवाका ५६ वर्षीय निमाइ साह रहेका छन्।
प्रहरीका अनुसार कतारको दोहामा बस्ने गिरोहले नेपाली कामदार घर फर्कने बेलामा उनीहरूलाई सम्पर्क गरी नेपाल पुग्दा होटलमा खानबस्न फ्री, घर जाने बेलामा मेरो मान्छेले पाँच हजार रुपैयाँ दिन्छ, सो बापत तिमीहरूले ५० ग्राम सुन बिलसहित लिएर जाउ, उक्त सुन कानुन बमोजिम लैजान पाईन्छ, काठमाडौंको एयरपोर्टमा पुगेपछि मेरो मान्छेले रिसिभ गरेर होटलमा लैजान्छ, तिमीले उक्त सुन दिनु भनि विश्वस्त पार्ने गरेका थिए।
त्यसपछि सो समूहले नेपाल फर्कने श्रमिकहरूले लगाएको लुगासहित फोटो खिची काठमाडौंमा आफ्नो विनोद साहलाई ह्वाट्सएप मार्फत पठाई दैनिक १५–२० जनालाई ५०–५० ग्रामको दरले पठाउने गरेका प्रहरीले जनाएको छ।
सुन तस्करी गर्ने कार्यमा संलग्न रहेका विनोद कुमार साह र उनकी श्रीमती रान्जु कुमारी साहले काठमाडौंको एयरपोर्ट अगाडि होटल हिमालयन स्पायर नामको होटल संचालन गरी काठमाडौंमा सुन संकलन गरी बिक्री गरी रितेश जनरल स्टोरको खातामा रकम जम्मा गर्ने गरेको खुलेको छ।
तस्करबाट आर्जित रकम रेमिट मार्फत शिवसुन्दर राउत मार्फत कतारमा पठाउने गरेको प्रहरीले सूचना प्राप्त गरेको जनाएको छ।
गैरकानुनी रूपमा संगठित भई भन्सार छली गरी कतारबाट सुन चोरी पैठारी गरी नेपाल ल्याई खरिद बिक्रीको कारोबार गर्ने व्यक्तिहरूको बारेमा अपराध अनुसन्धान कार्यालयले अनुसन्धान सुरु गरेकाे थियो।
आइतबार (असार २४ गते) नेपाल वायु सेवा निगमको आरए२४० नं. को फ्लाइटबाट कतार हुँदै बिहान १०ः१० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सानासाना परिमाणमा सुनका गरगहनाहरु ल्याउँदै गरेका उनीहरुलाई अपराध अनुसन्धान कार्यालयबाट गएको टोलीले सुन सहित पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनीहरुले कूल रु २ अर्ब ३७ करोड ८२ लाख ३६ हजार ५४९ रुपैयाँको कारोबार गरेका देखिन्छ।
जसमा रितेस जनरल स्टोरबाट एक अर्ब ८१ करोड ५७ लाख १९ हजार ८७ रुपैयाँ, शिव सुन्दर राउतबाट १२ करोड ११ लाख४२ हजार ४०८, विनाेदकुमार शाह ४१ करोड ५४ लाख ७६ हजार ८६९ रुपैयाँ ७६ पैसा, मोहनकुमार यादव ४८ लाख ७० हजार ६८७ र सन्जुकुमारी शाह २ करोड १० लाख २७ हजार ४९७ रुपैयाँ कारोबार भएको प्रहरीले जनाएको छ।
Shares
प्रतिक्रिया