आज (मंगलबार) पनि सबै प्रदेशमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले बिहान कोशी, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिए।
यस्तै आज दिउँसो र राति पनि सबै प्रदेशमा वर्षाको सम्भावना रहेको उनले बताए।
मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।
आज अपराह्न काठमाडौं उपत्यकामा पनि हल्का वर्षाको सम्भावना रहेको मौसमविद् झाले बताए।
यस्तै राति सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जनचट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार मधेश प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ।
आगामी २४ घण्टा (बुधबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ– ‘सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको हुनाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवनसमेत प्रभावित हुनसक्ने देखिन्छ। तसर्थ हावाहुरी, भारी वर्षा, मेघगर्जन/चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’
मौसमी भाषाको अर्थ
मौसमविद्का अनुसार १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० मिलिमिटरदेखि माथि ५० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई मध्यम वर्षा तथा ५० भन्दा माथि सय मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई भारी वर्षा भनिन्छ। यस्तै सय मिलिमिटरभन्दा माथि र दुई सयभन्दा मुनि मिलिमिटर पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ। अनि २ सय मिलिमिटरदेखि माथि पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ।
यस्तै सम्बन्धित क्षेत्रको १० प्रतिशत भूभागमा मात्रै वर्षा हुनुलाई एक/दुई स्थान, १० देखि ३० प्रतिशत भूभागमा पानी पर्नुलाई थोरै स्थान, तोकिएको क्षेत्रको ३० देखि ५० प्रतिशत भूभागमा वर्षा हुनुलाई थोरै स्थान, ५० देखि ८० प्रतिशत भूभागमा पानी पर्नुलाई केही स्थान, ८० प्रतिशतभन्दा बढी भूभागमा वर्षा हुनुलाई अधिकांश स्थानमा वर्षा हुने भनेर बुझ्नुपर्ने मौसमविद् बताउँछन्।
यस्तै मौसम महाशाखाले दिउँसो भन्नाले दिन अर्थात् बिहान ६ बजेदेखि साँझ ६ बजेसम्मको समयलाई मान्ने गरेको छ भने राति भन्नाले साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको समय हो।
Shares
प्रतिक्रिया