त्रिभुवन विमानस्थलबाट ८० किलोभन्दा बढी सुन बरामद भएको छ।
बुधबार राति राजश्व अनुसन्धान कार्यालयले विमानस्थलबाट चेकजाँच पार गरिसकेको अवस्थामा सो सुन बरामद गरेको हो।
हङकङबाट क्याफे प्यासिफिकबाट नेपाल आएका यात्रुको साथबाट कार्यालयको टोलीले सुन बरामद गरेको राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले जानकारी दिए।
सुन ८० देखि १०० किलोसम्म रहेको विभागको अनुमान छ।
‘भन्सारको गेटबाहिरबाट हामीले बरामद गरेका हौँ। मोटरसाइकल र स्कुटरको ब्रेक सुमा लुकाएर ल्याइएको हो’ महानिर्देशक ढुंगानाले नेपालखबरसँग भने, ‘८० देखि १०० किलोसम्म रहेको अनुमान छ।’
विमास्थलबाट दैनिक अनुमानित एक सय किलो सुन पास भइरहेको सूचना केहीदिनदेखि आएको र सोही आधारमा अपरेसन गरिएको राजश्व अनुसन्धान विभागका एक अधिकारीले बताए।
अपरेसन जारी रहेकाले बरामद सुन कति परिमाण छ भन्ने यकिन भइनसकेको विभागको भनाई छ।
Shares
प्रतिक्रिया