ad ad

समाज


सय किलो सुन भित्रिँदा बिदामा थिए विमानस्थल भन्सार र प्रहरी प्रमुख

सय किलो सुन भित्रिँदा बिदामा थिए विमानस्थल भन्सार र प्रहरी प्रमुख

तस्बिरमा विमानस्थल भन्सार कार्यालयका प्रमुख सहसचिव अरुण पोखरेल र विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुख अर्जुन चन्द ठकुरी।


उजिर कार्की/दीपक भट्ट
साउन ४, २०८० बिहिबार १५:५९, काठमाडौँ

करिब सय किलो सुन राजश्व अनुसन्धान विभागले बरामद गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महत्त्वपूर्ण कार्यालयका प्रमुखहरू भने बिदामा रहेको पाइएको छ। विमानस्थल भन्सार कार्यालय र विमानस्थल सुरक्षा कार्यालयका प्रमुख बिदामा रहेको पाइएको हो। 

विमानस्थल भन्सार कार्यालयका प्रमुख सहसचिव अरुण पोखरेल असार १७ गतेदेखि नै बिदामा रहेको पाइएको छ। भन्सार विभागका अनुसार उनले दुई महिना लामो बिदा लिएका छन्।

असार १७ गते देखि बिदा लिएका पोखरेलले भदौ १७ गते सम्मको लागि बिदा स्वीकृत गराएका थिए। 

विभागका अनुसार ढाडमा समस्या आएको भन्दै उनले बिरामी बिदा लिएका थिए। भन्सार विभागको महानिर्देशक र अर्थमन्त्रीलाई समेत उनले बिदाबारे पहिल्यै जानकारी गराएका थिए।

यस्तै, विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुख अर्जुन चन्द ठकुरी पनि मंगलबारदेखि नै बिदामा रहेको पाइएको छ। उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा उनले एकसाता लामो बिदा लिएका हुन्। 

मंगलबारदेखि बिदामा रहेका डीआईजी ठकुरी आगामी मंगलबार मात्रै कार्यालय आउने उपत्यका प्रहरी कार्यालय रानीपोखरीका उच्च अधिकारीले बताए। 

विमानस्थलबाट चेकजाँच र भन्सार पास भइसकेको अवस्थामा राजश्व अनुसन्धान विभागले अहिलेसम्मकै ठूलो परिमाणमा सुन पक्राउ गरेपछि भन्सारका कर्मचारी र प्रहरीमाथि प्रश्न उठेको छ।

भन्सार विभागका अधिकृत सन्तोष चन्द र नासु कुमार ढकाललाई बिहीबार निलम्बनको सिफारिस गरिसकेको छ। 

यस्तै, भन्सार विभागले पनि आन्तरिक छानविन गर्ने भएको छ। विभागले मानबहादुर पौडेलको संयोजकत्वमा छानविन समिति गठन गरेको छ।

हङकङ हुँदै आएको करिब सय किलो सुन राजश्व अनुसन्धान विभागले मंगलबार बरामद गरेको थियो। सुन जोख्न नेपाल राष्ट्र बैंकको टक्सार महाशाखा लगिएको छ। त्यसपछि परिमाण यकिन हुनेछ।

यो पनि पढ्नुहोस्:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .