ad ad

समाज


देशभर वर्षा र लुम्बिनीमा हावाहुरीको पनि सम्भावना

देशभर वर्षा र लुम्बिनीमा हावाहुरीको पनि सम्भावना

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
साउन ६, २०८० शनिबार ८:२९, काठमाडौँ

आज (शनिबार) पनि देशभर विभिन्न स्थानमा वर्षा हुने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार दिउँसो बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा देशका बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

यस्तै राति सबै प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेशको तराईका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। 

काठमाडौं उपत्यकामा पनि वर्षाको सम्भावना
काठमाडौं उपत्यकामा पनि आज वर्षाको सम्भावना छ। 

‘अपराह्नतिर हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ’, मौसमविद् समीर श्रेष्ठले भने। 

मौसम महाशाखाले आगामी २४ घण्टा (आइतबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। 

जसमा भनिएको छ– ‘बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा देशका बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ। तसर्थ यसकारण हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोप र हावाहुरीको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ। 

मौसमी भाषाको अर्थ

मौसमविद्का अनुसार १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० मिलिमिटरदेखि माथि ५० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई मध्यम वर्षा तथा ५० भन्दा माथि सय मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई भारी वर्षा भनिन्छ। यस्तै सय मिलिमिटरभन्दा माथि र दुई सयभन्दा मुनि मिलिमिटर पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ। अनि २ सय मिलिमिटरदेखि माथि पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ। 

यस्तै सम्बन्धित क्षेत्रको १० प्रतिशत भूभागमा मात्रै वर्षा हुनुलाई एक/दुई स्थान, १० देखि ३० प्रतिशत भूभागमा पानी पर्नुलाई थोरै स्थान, तोकिएको क्षेत्रको ३० देखि ५० प्रतिशत भूभागमा वर्षा हुनुलाई थोरै स्थान, ५० देखि ८० प्रतिशत भूभागमा पानी पर्नुलाई केही स्थान, ८० प्रतिशतभन्दा बढी भूभागमा वर्षा हुनुलाई अधिकांश स्थानमा वर्षा हुने भनेर बुझ्नुपर्ने मौसमविद् बताउँछन्।  

यस्तै मौसम महाशाखाले दिउँसो भन्नाले दिन अर्थात् बिहान ६ बजेदेखि साँझ ६ बजेसम्मको समयलाई मान्ने गरेको छ भने राति भन्नाले साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको समय हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .