ad ad

समाज


मलेसियामा बसले ठक्कर दिँदा सर्लाहीका युवाको मृत्यु

मलेसियामा बसले ठक्कर दिँदा सर्लाहीका युवाको मृत्यु

नेपालखबर
साउन २०, २०८० शनिबार १०:५७, सर्लाही

सर्लाहीका एक युवाको रोजगारीको सिलसिलामा मलेसियामा मृत्यु भएको छ।

हरिवन नगरपालिका-१ अत्रौली घर भएका २७ वर्षीय हेमबहादुर श्रेष्ठको शुक्रबार बिहान आफू कार्यरत कम्पनी परिसरमा बसको ठक्करबाट मृत्यु भएको हो। 

ललितप्रसाद श्रेष्ठ र इन्द्रकुमारी श्रेष्ठका छोरा हेमबहादुर पाँच वर्षअघि विवाह गर्नासाथ मलेसिया गएका थिए। 

मोरङ बेलबारीकी बिनिता श्रेष्ठसँग प्रेम विवाह गरेर मलेसिया गएका श्रेष्ठ त्यसयता नेपाल फर्किएका थिएनन्। उनीहरुका बालबच्चा पनि भएका छैनन्।

‘राम्रो कमाइ हुने सजिलो काम छ भन्दै विवाह गर्नासाथ ऊ मलेसिया गएको थियो। पाँच वर्षदेखि भिसा थप गरेर उतै बसिरहेको थियो,’ बुवा ललितप्रसादको भनाई उधृत गर्दै हरिवन नगरपालिकाका कर्मचारी तारानाथ पोखरेलले भने, ‘मलेसियामा भएको सवारी दुर्घटनामा उहाँको मृत्यु भएको खबरले परिवारका सदस्य मात्रै होइन, यतिबेला छरछिमेकी पनि शोकमा छन्।’ 

यसअघि पनि मलेसिया गएका श्रेष्ठ पाँच वर्षअघि विवाह गर्न भनेर घर फर्किएका थिए। घर आएपछि विवाह गरेका श्रेष्ठ श्रीमतीलाई आमाबुवाको साथमा छाडेर लगत्तै फेरि मलेसिया गएका थिए। 

श्रेष्ठको शव चाँडै नेपाल ल्याउनको लागि पहल गरिदिन परिवारका सदस्यले स्थानीय जनप्रतिनिधिलाई आग्रह गरेका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .