ad ad

कारोबार


रासायनिक मल कालोबजारी गर्ने पसलमा भक्तपुर प्रशासनको छापा

रासायनिक मल कालोबजारी गर्ने पसलमा भक्तपुर प्रशासनको छापा

नेपालखबर
साउन २०, २०८० शनिबार ११:२१, काठमाडौँ

जिल्ला प्रशासन कार्यालय भक्तपुरले बढी मूल्य लिएर रासायनिक मल बिक्री गर्ने पसलहरुमा धमाधम छापा मार्न थालेको छ।

मलको अभाव देखाउँदै कालोबजारी गर्ने केही पसलमा स्थानीय प्रशासनले तालाबन्दी समेत गरेको छ।

शुक्रबार भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोलेन्द्र निरौलाको नेतृत्वमा गएको टोलीले अनुदानको रासायनिक मल बढी मूल्य लिएर बिक्री गर्ने भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित न्हुँछेभक्त कटुभाजुले सञ्चालन गरेको एनबी मल पसलमा छापा मारेको छ।

नेपाल सरकारको अनुदान प्राप्त रासायनिक मल कालोबजारी गरी बिक्री गरेको उपभोक्ताको गुनासो आउने बित्तिकै जिप्रका भक्तपुरको टोलीले उक्त पसलमा छापा मारी गैरकानुनी रुपमा भारतबाट ल्याएको अवैध मलसमेत बरामद गरेको छ। 

भारतबाट अवैध ढंगले ल्याएको मल प्रतिबोरा दुई हजार एक सयमा बिक्री गरेको पाइएपछि मल बरामद गर्दै पसलमा सिलबन्दी गरिएको प्रजिअ खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।

‘उक्त पसलबाट हामीले एक सय २९ बोरा रासायनिक मल बरामद गरेका छौँ, त्यसमध्ये २० वटा बोरामा कृषि सामग्री लिमिटेड लेखिएको छ,’ उनले भने, ‘अरू बोरामा नेपालमा बिक्री वितरण गर्ने भनी उल्लेख गरिएको छैन। त्यस्तो मल अवैध हो, त्यस मल पसललाई सिलबन्दी गरी थप अनुसन्धान सुरु गरेका छौँ।’

जिल्ला प्रशासनको टोलीलाई मल बिक्रेता कटुभाजुले मल खरिदको बिल समेत देखाउन सकेनन्। मल बिक्री गर्दा उनले एग्रो वल्र्ड ललितपुर लेखिएको बिल दिने गरेको पाइएको छ।

पसल सञ्चालकहरुले धान रोपाइँको समयमा रासायनिक मल अभाव देखाउँदै कालोबजारी गर्न थालेपछि आकस्मिक अनुगमन गर्ने अभियान नै सञ्चालन गरिएको जिप्रका भक्तपुरले जनाएको छ। 

कालोबजारी गरेर कतै मल बिक्री गरेको पाइए तत्काल खबर गर्न पनि स्थानीय प्रशासनले उपभोक्ताहरुलाई आग्रह गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .