ad ad

समाज


काभ्रेको बेथानचोक : प्राग मानव बसोबासको सम्भावना भेटियो, थप अध्ययन जरुरी

काभ्रेको बेथानचोक : प्राग मानव बसोबासको सम्भावना भेटियो, थप अध्ययन जरुरी

नेपालखबर
साउन २३, २०८० मंगलबार १८:५१, काठमाडौँ

काभ्रेको बेथानचोक क्षेत्र प्राग ऐतिहासिक कालमै बसोबास क्षेत्र रहेको सम्भावना भेटिएको छ।

संस्कृति तथा पुरातत्व अध्ययन केन्द्रको अन्वेषणको क्रममा पालिकाको वडा नम्बर २ मा रहेको शिव पार्वती गुफामा प्राग मानिसको बसोबासको सम्भावना भेटिएको हो। 

बेथानचोक क्षेत्रको व्यवस्थितरूपमा पुरातात्विक अन्वेषण एवं उत्खनन्को कुनै पनि काम नभएको र प्राग् मानवको बसोबाससम्बन्धी खोजी भएको भेटिएको छैन।

केन्द्रको टोलीले ३ महिना लगाएर गरेको पालिकाको सांस्कृतिक तथा पुरातात्विक अध्ययनको क्रममा त्यस क्षेत्रमा प्राग् मानिसको बसोबासको सम्भावना रहेको भन्दै व्यवस्थित अध्ययनको आवश्यकता औंल्याएको छ। 

वडा नं २ को कामीखोरियाको खोचमा रहेको प्राकृतिक गुफा ४० वर्ष पहिले ललितपुरबाट आएका एक शिकारीले पत्ता लगाएको स्थानीयको भनाइ छ।

गुफाभित्र ढुंगाबाट बनेका प्राकृतिक आकृति छन्। शिवपार्वतीको मूर्तिजस्तो देखिने शिला रहेकाले स्थानीयले गुफालाई शिवपार्वती गुफा नामाकरण गरेका हुन्। यो चुनढुंगाबाट बनेको प्राकृतिक गुफा हो। 

करिब ३० वर्षअघि शिकारीले गुफा रहेको पत्ता लगाए पनि त्यसभित्रको विस्तृत अध्ययन भएको थिएन।

करिब ३० मिटर लम्बाइमा रहेको गुफा भिरालो आकारमा छ। साँघुरो मुख र विविध बाटो हुँदै भित्र पुग्न सकिने गुफाको अन्तिमबिन्दुमा पुग्दा करिब २०/२५ जना सजिलै अट्न सक्ने खाली भूभाग छ।

फ्रान्सको इरासमस मुण्डसबाट प्राग् मानवको संस्कृतिसम्बन्धी विषयमा विद्यावारिधि गरिरहेका विक्रम श्रेष्ठका अनुसार प्राकृतिक गुफामा मानव बसोबास गरेको पत्ता लगाउने दुईवटा आधार हुने गर्छ।

एउटा त्यहाँ रहेका चट्टानको वैज्ञानिक विधिबाट प्रयोगशाला परीक्षण गरेर र अर्को उनीहरूको बसोबासको प्रकृतिलाई अन्यत्रका गुफासँग तुलनात्मक अध्ययन गरेर त्यो गुफामा प्राग् ऐतिहासिक मानवहरू बसोबास गरेनगरेको यकिन गर्न सकिन्छ। 

कुनै पनि गुफामा मानव बसोबास रहनको लागि पानीको स्रोत, गुफाको तल्लो भागमा समथर भूभाग, खानाको लागि जंगली जनावर र कन्दमुलको व्यवस्था, गुफाको प्रवेशद्वार सानो भए पनि भित्र खुला र बस्न मिल्ने क्षेत्र एवं गुफाभित्र पर्याप्त अक्सिजनको व्यवस्था हुनु आवश्यक छ।

अन्यत्रको गुफामा पाइने यी सबै विशेषताहरू यो गुफामा समेत भेटिएकोले गुफामा मानव बसोबासको सम्भावना देखिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .