ad ad

समाज


विमानस्थल भन्सारका तत्कालीन प्रमुख पोखरेलमाथि अनुसन्धान थाल्न अख्तियारलाई सरकारी वकिलको पत्र

विमानस्थल भन्सारका तत्कालीन प्रमुख पोखरेलमाथि अनुसन्धान थाल्न अख्तियारलाई सरकारी वकिलको पत्र

विमानस्थल भन्सारका तत्कालीन प्रमुख अरुण पोखरेल


नेपालखबर
भदौ ११, २०८० सोमबार १५:३५, काठमाडौँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको करोडौंको सुन तस्करी प्रकरणमा विमानस्थल भन्सार कार्यालयका निवर्तमान प्रमुख अरुण पोखरेललाई अनुसन्धानको दायरामा ल्याउन सरकारी वकिल कार्यालय काठमाडौंले निर्देशन दिएको छ। 

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाउँदै पोखरेलमाथी सुन प्रकरणमा अनुसन्धान गर्न भनेको हो।

जिल्ला सरकारी वकिल कार्यालय स्रोतले नेपालखबरसँग भन्यो, ‘उहाँ (अरुण पोखरेल) माथि अनुसन्धान हुनु पर्ने देखियो। त्यही भएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाइसकेका छौँ।’

यसअघि भेपमा भएको ९ किलो सुन तस्करी र ६० किलो सुन तस्करी हुँदा पोखरेल विभानस्थल भन्सार प्रमुख थिए।

चिनियाँ नागरिकले भेपमा लुकाएर ल्याएको ९ किलो सुन भन्सारका कर्मचारीले गायव पारेका थिए। साउन ३ गते राजश्व अनुसन्धान विभागले बरामद गरेको ६० किलो सुन पनि भन्सार विभागबाट जाँच पास भइसकेको थियो। 

यसबीचमा तस्करीको सुन चेकजाँचमा भन्सारको गम्भीर लापरबाही र मिलेमतो देखिएको छ। दुवै घटनामा भन्सारका कर्मचारी र एजेन्ट संलग्न रहेको पुष्टि भइसकेको छ।

९ किलो सुन प्रकरणमा भन्सारका कर्मचारीहरु पनि पुर्पक्षका लागि थुनामा परेका छन्। 

भेपमा ल्याएको ९ किलो सुन तस्करीको घटनापछि पनि भन्सारमै कार्यरत रहेका प्रमुख पोखरेललाई अर्थ मन्त्रालयले ६० किलो सुन तस्करीको केही दिनपछि नै हटाएको थियो। 

सुन तस्करी हुँदा बिरामी बिदामा रहेका पोखरेललाई अर्थमन्त्रालयले साउन ९ गते हटाउँदै टोकराज पाण्डेलाई विमानस्थल भन्सारको प्रमुखमा सरुवा गरिएको छ। 

राजश्वले साउन ३ गते सुन बरामद गरेको जनाएको छ। तर भन्सार प्रमुख पोखरेल भने असार १७ गतेदेखि नै बिरामी बिदामा बसेका थिए। उनले भदौ १७ गतेसम्मको बिदा लिएको भन्सार विभागले जनाएको छ। 

६० किलो सुन तस्करी प्रकरण प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ।

राजश्व अनुसन्धान विभागले १८ जनालाई पक्राउ गरेर सीआईबीमा बुझाएको थियो। तीमध्ये एकजनालाई स्वास्थ्यका कारण छाडिएको छ।

अन्य १७ जनालाई सीआईबीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। 

यस्तै ६ जना चिनियाँ पनि पक्राउ परेका छन्। उनीहरु नै अहिलेसम्म यो तस्करी गर्ने मुख्य देखिएका छन्। तर यही बीचमा सरकारी वकिल कार्यालयले भने तत्कालीन भन्सार प्रमुखलाई अनुसन्धान गर्न अख्तियारलाई पत्र पठाएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .