नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले नेपालमा संस्कृति नीति बनाउन जरुरी देखिएको बताएका छन्। शुक्रबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
नेपालमा संस्कृति नीति नभएका कारण विभिन्न धार्मिक र सांस्कृतिक विद्वेष फैलिरहेको उल्लेख गर्दै उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई संस्कृति नीति बनाउन समितिले निर्देशन दिनुपर्ने पनि बताए।
‘सनातन धर्मका बारेमा एकले एकथोक र अर्कोले अर्कोथोक भनिरहेको छ। त्यसलाई कसरी प्रयोग गर्छौं त। यो खालको कुरा नीति नभएको देखिन्छ, नेपाल सरकारको एउटा निर्देशन जरुरी छ। धर्मनिरपेक्षतामा कस्तो नीति हुन्छ भन्नेकुरामा जोड दिनुपर्छ,’ पुनले भने, ‘धरानजस्ता घटना बढेर गएका छन्। एउटा मन्दिर बनायो, धर्म मान्नेका लागि आस्थाको केन्द्र भयो, नमान्नेका लागि सांस्कृतिक सम्पदा हुँदो रहेछ। सांस्कृतिक सम्पदाको नीति के हुन्छ? धार्मिक केन्द्रमाथिको नीति के हुन्छ? प्रश्न उठेपछि राज्यले सम्बोधन गर्नुपर्छ।’
उनले धरानका जस्ता घटनाहरु नेपालमा बढीरहेको भन्दै प्रश्न उठिसकेपछि सरकारले सम्बोधन गर्नुपर्ने बताए।
‘अलिखित मान्यता थियो तर अब समयको मागले लिखित माग गर्दै गइएको छ। आज नयाँ ढंगले व्यवस्थित गर्नुपर्छ। त्यसैले हामीलाई संस्कृति नीति जरुरी देखिन्छ। नीति बनाउन निर्देशन दिनुपर्ने देखिन्छ। धर्म निरपेक्ष सम्बन्धी र यसलाई व्यवस्थित गर्न आवश्यक कानूनको परिमार्जन गर्न निश्चित मर्यादा बनाउनुस् भन्नुपर्ने हुन्छ,’ उनले भने।
सांसद पुनले धर्म निरपेक्ष सम्बन्धी नीति र यसलाई व्यवस्थित गर्न आवश्यक कानूनको परिमार्जन गर्न निश्चित मर्यादा बनाउनुपर्ने पनि बताए।
Shares
प्रतिक्रिया