ad ad

समाज


१४ वर्षपछि श्रीमती र छोरा भेट्दा भक्कानिए उमेश

१४ वर्षपछि श्रीमती र छोरा भेट्दा भक्कानिए उमेश

शैलेन्द्र महतो
माघ १३, २०७६ सोमबार ९:१६,

साउदी अरेबियामा मृत्युदण्डबाट जोगिएर स्वदेश फर्किएका धनुषाका उमेश यादवले झण्डै १४ वर्षपछि आफ्ना श्रीमती र छोराहरुलाई भेटेका छन्।

स्वदेश फर्किएपछि जनकपुर विमानस्थलमा ओर्लिएका उमेशले श्रीमती र परिवार देख्दा आफूलाई सम्हाल्न सकेनन्। श्रीमती सञ्जु उस्तै भावविह्वल बनिन्। छोराहरुको आँखामा समेत आँशु थामिएन।

१३ वर्ष बढी समय पर्खाइमा बिताएकी उमेशकी श्रीमती सञ्जु आफ्ना दुई छोराहरु कमलेश र हितेशसँगै जनकपुर विमानस्थलमा उनलाई पर्खिरहेकी थिइन्। उनीसँगै उमेशका भतिजाहरु, जेठो साढु राजकरण यादव, सासू दुर्गीदेवी र आफन्तजन समेत उमेशको स्वागतका लागि विमानस्थल पुगेका थिए।

उमेश झर्नुअघि नै विमानस्थल पुगेकी श्रीमती सञ्जुले नेपालखबरसँग भनिन्, ‘श्रीमान् आइपुग्नुभयो, योभन्दा ठूलो केही छैन।’ अब श्रीमानसँगै बसेर छोराहरुलाई पढाउने उनको अबको योजना छ।

umesh janak 3

१७ दिनको छोरा छोडेर विदेशिएका थिए उमेश
उमेश १३ वर्षअघि अर्थात् सन् २००६ मा साउदी अरेबिया जाँदा छोरा हितेश १७ दिनको मात्रै थिए। जेठा छोरा कमलेश यादव चार वर्ष पुगेका थिए। उमेश विदेश गएपछि जेलमा परे। श्रीमती सञ्जु यादव माइत गइन्।

sanju yadav family 3

उमेशको घर धनुषाको कमला नगरपालिका ५, पर्सामा हो। ससुरालीचाहिँ सिरहाको कर्जन्हा नगरपालिका ७, मरेवा टोल हो। सञ्जु माइतमा ८ वर्ष बसिन्। छोराहरु दुवैलाई माइतमै लगिन्। सञ्जु त्यतिबेलाको अवस्था सम्झिन्छिन्, ‘सासूससुराले बस्छौ भने बस माइत जान्छौ भने जाऊ भने, त्यसपछि छोराहरु लिएर माइत गएँ।’

छोरा पढाउन मजदुरी
माइतमा ८ वर्ष बसेपछि छोराहरुलाई पढाउन समस्या भयो। त्यहाँबाट धनुषाको क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरमा आफ्नो भिनाजु राजकरण यादव थिए। उनी त्यहीँ बस्नथालिन्। मजदुरको काम गरिन्। दुवै छोरालाई पढाउन थालिन्।

sanju yadav family 2

अहिले जेठो छोरा १७ वर्ष र कान्छो १३ वर्षका छन्। कमलेश अहिले कक्षा ८ मा महेन्द्रनगरकै प्रगति शिशुसदन बोर्डिंग स्कुलमा पढ्छन्। हितेशचाहिँ सरस्वती बोर्डिंग स्कुलमा कक्षा ३ मा पढिरहेका छन्।

अरुले ‘श्रीमान् मरिसक्यो’..भनेको सुन्दा
उमेश जाँदा विदेशमा पाकिस्तानी नागरिकको हत्या आरोपमा पक्राउ परेपछि मानिसहरुले उनकी श्रीमतीलाई उमेशलाई पनि मारिदियो भन्ने कुराहरु सुनाउनथाले। त्यसपछिको ६ वर्ष उमेश र सञ्जुबीच कुनै सम्पर्क नै हुन सकेन। त्यसपछि घरपरिवारले पनि आशा मार्नथाले।

तर सञ्जुलाई श्रीमान् जीवितै रहेको आशा थियो। ६ वर्षपछि एक दिन उनलाई उमेशको फोन आयो। लुकीछिपी फोन गरेका रहेछन्। उनले फोनमा श्रीमतीलाई भने, ‘म जिउँदै छु, बच्चाको ख्याल गर्नु, पढाउनु।’ उमेशले धेरै कुरा गरेनन्। आफ्नो चिन्ता नलिन उमेशले श्रीमतीलाई भनेका थिए त्यतिबेला।

umesh janak 4

त्यसयता उनीहरुबीच वर्ष÷दुई वर्षमा एक पटक बल्लतल्ल फोन हुन्थ्यो। उमेशलाई फाँसी दिने पहिलादेखिकै हल्ला छँदै थियो। यो कुराले सन्जु, उमेशको परिवारलाई एकदमै पीडा हुन्थ्यो।

साउदी अरबको जुबेल अदालतले फाँसी दिने कुरा सार्वजनिक भएपछि जनकपुरका अभियन्ता सरोज रायले पहलकदमी लिए। त्यसपछि उमेशलाई केही राहत भयो। परिवारलाई उमेश बाँचेर फर्किने आशा पलायो।

उमेशकी सासू दुर्गीदेवीले छोरीलाई सहयोग गर्दै आएको बताइन्। उनले भनिन्, ‘माइतमा समस्या भएपछि महेन्द्रनगरमा सरसल्लाहमै पठाएको हो।’

उमेशविरुद्ध सन् २०१८ मे १५ मा साउदी अदालतले मृत्युदण्ड सुनाएको थियो। सामाजिक अभियन्ता सरोज रायको पहलमा उनले अदालतबाट आममाफी पाएपछि गत बुधबार उनी काठमाडौं अवतरण गरेका थिए। आज मात्रै उनी धनुषास्थित घर पुगेका हुन्। 

याे पनिः
१. मृत्युदण्डबाट जोगिएका उमेश भन्छन्ः सबैप्रति मेहरबान छु
२. मृत्युदण्ड सजाय सुनाइएका छोरालाई १४ वर्षदेखि पर्खिबसेका यी आमाबुबा
३. मृत्युदण्डबाट जोगिएका उमेश १४ वर्षपछि आज श्रीमतीसँग अंकमाल गर्दै

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .