धादिङ केन्द्रबिन्दु भएर आइतबार बिहान गएको ६.१ रेक्टर स्केलको भूकम्पको कारण धादिङको ज्वालामुखी गाउँपालिकामा एक दर्जन घर भत्किएका छन्।
जिल्ला प्रहरी कार्यालय धादिङका एसपी गौतम मिश्रले दिएको जानकारी अनुसार भूकम्पले मानवीय क्षति गरेको विवरण अहिलेसम्म प्राप्त नभए पनि केही घर भने भत्किएका जानकारी दिए।
भूकम्पको केन्द्रबिन्द धादिङको ज्वालामुखी गाउँपालिका ५ खरीमा पर्छ। ‘भूकम्पको केन्द्रबिन्दु मानवीय बसोबास भएको ठाउँ हो,’ एसपी मिश्रले नेपालखबरसँग भने, ‘तर, अहिलेसम्म हामीलाई प्राप्त जानकारी अनुसार झण्डै एक दर्जन जति घर भत्किएका छन्। केही घर चर्किएका छन्। पशुबस्तु केही घाइते भएका छन्। तर, मानवीय क्षतिको विवरण अहिलेसम्म प्राप्त भएको छैन।’
भूकम्पले ज्वालामुखी वडा नम्बर ५ का वर्षा कुमालको ढुंगा माटोले बनेको घर, ज्वालामुखी ७ चैनपुरका बलहादुर दरैको घर, ज्लामुखी १ मंगलटारका मंगलसिंह माझीको घर भत्किए पनि मानवीय क्षति नभएको उनले बताए।
उनले भूकम्पको कारण केही ठाउँमा पहिरो गएको जानकारी दिए।
Shares
प्रतिक्रिया