दसैँ, तिहार, छठ लगायतका महत्वपूर्ण चाडपर्व भित्रिसकेका छन्। चाडपर्व भित्रिएसँगै सर्वसाधारण घर जाने क्रम बढेको छ।
चाडपर्वका समयमा खानपिन तथा जीवनशैलीमा एकदमै बढी लापरवाही हुनाले विभिन्न रोगको जोखिम हुन्छ।
खानामा सन्तुलन मिलाउन सकिएन भने रोगको जोखिम अझ बढ्छ। गर्मी मौसम सकिएको र जाडो मौसम पनि लगभग सुरु भइसकेको छ।
यसै सन्दर्भमा केन्द्रित रहेर अल्का अस्पतालमा कार्यरत फिजिसियन डा.रक्षा गौतमसँग चाडपर्वमा कस्तो खानेकुरा खाने, कतिसम्म खाने र कस्तो ध्यान दिनुपर्छ भनेर गरिएको कुराकानीको सम्पादित अंशः
चाडपर्व भित्रिसकेको छ, यो बेलामा स्वास्थ्यको हेरचाह कसरी गर्ने ?
चाडपर्व आएसँगै हामीले आफ्नो स्वास्थ्यलाई विशेष ख्याल गर्नुपर्ने हुन्छ। मुख्यतः खानपानमा ध्यान दिनुपर्छ। हेभी खाना खाने र चिल्लो खानाका कारण पेट खराब भएर बिरामीहरू दसैँ–तिहारको बीचमा आउने गर्नुहुन्छ।
यस्तै, हेभी खाना खाई अपच भएर, डायरिया भएर आउने बिरामीहरूको संख्या धेरै हुने गर्छ। हामीले नियमित हेरिरहेका डायबेटिजका, कोलेस्ट्रोलका बिरामीहरू पनि दसैँ–तिहारपछि आएर हामीलाई रिपोर्ट देखाउँदा सुगर बढेको, कोलेस्ट्रोलको मात्रा बढेको भेट्छौं। युरिक एसिडहरू बढेको भेट्छौं।
त्यसैले दसैँमा धेरै माछामासु खाएर आउने बिरामीहरू नै भेटेका छौँ। जसलाई स्वास्थ्य जोखिम भएको छ। खानामा धेरै एक्साइटेड भएर माछा मासु खाए पनि ठिक्क मात्रामा खानुपर्छ।
आवश्यकता भन्दा धेरै खाइयो भने रोगको जोखिम बढ्छ। खाँदाखेरी पनि घरमा पकाएको स्वस्थकर खानेकुराहरू खानुपर्छ। खानासँगसँगै पानीको मात्रा पनि बढाउनुपर्छ। कतिपय घाँटीहरू दुखेका, टन्सिलका बिरामीहरू पनि देख्छौँ।
धेरैजसो दही, बाहिरका मिठाइहरू, चिल्लो खाएर, सिसीमा राखेको पुरानो अचारहरू खाएर आएका बिरामीहरू पनि देखेका छौ। खाना त खानुपर्छ। तर, चाडपर्वको बेला ठिक्क मात्रामा खानुपर्छ।
स्वास्थ्यलाई नै हानि गर्ने गरी धेरै खानु भएन। खाना खाँदा सन्तुलन मिलाएर खानुपर्छ। चाडपर्व आउँदा धेरै नै खाएको पाइन्छ।
पछिल्लो समय विकृति बढेर जाँडरक्सी सेवन बढी भएको देखिन्छ। चाडपर्वको बेला रक्सी खाएर गाह्रो भएर इमरजेन्सीमा आउनुभएको बिरामीहरू पनि हामीले भेट्छौँ। यसो गर्नु राम्रो होइन।
नियमित औषधि सेवन गरिरहेका बिरामीले के कुरामा ख्याल गर्नुपर्छ?
नियमित औषधि खाने बिरामी मुख्यतः रक्तचाप र सुगर रोग, कोलेस्ट्रोलका बिरामीले औषधि नियमित खानुपर्यो।
यस्तै कतिपय बिरामी त चिकित्सकको फलोअप (निगरानी)मा नगएको पनि देखेका छौँ। औषधि पनि नखाने, खाना पनि सन्तुलित रूपमा नखाने गर्दा स्वास्थ्य जोखिम आएको देखिन्छ।
दसैँ-तिहारको बेला काठमाडौं बाहिर जादैँ हुनुहुन्छ, फलोअपमा आउनलाई त्यति सजिलो छैन भने पुग्नेगरी औषधि लिएर जानु उपयुक्त हुन्छ।
उच्च रक्तचाप, मधुमेह भएकाले माछामासु खान हुन्छ?
माछा मासु खानै नहुने होइन। कोलेस्ट्रोल हुनेले रातो मासु अलिक कम गर्नु भन्छौँ। तर, मासु खाँदै नखाने भन्ने होइन।
रातो मासुमा पनि पौष्टिक आहार हुन्छन्। भिटामिन १२ लगायत त्यसमै हुन्छ। खाँदै नखाँदाखेरी कोलेस्ट्रोल व्यालेन्स गर्ने नाममा भिटामिन १२ डिफिसियन्सीहरू भएर कमजोरी भएर आउनुहुन्छ।
१५ दिनमा एकपटक रातो मासु खाँदा केही फरक पर्दैन। रातो मासु खान नहुनेलाई चिकेन, माछा खान सकिन्छ।
यस्तै, अण्डा, गेडागुडीहरू खान सकिन्छ। माछा मासु खानै नहुने भन्ने होइन। तर, सन्तुलित रूपमा ठिक्क गरेर खान मिल्छ।
मौसम परिवर्तन हुँदैछ। सिजनल फ्लु बढेको हो? अस्पतालमा सरुवा रोगका बिरामीहरूको चाप कत्तिको छ?
सरुवा रोगमा फ्लु भएर आउने बिरामीको चाप बढेको छ। हामीले के भेटिरहेका छौँ भने इन्फ्लुएन्जा जुन सामान्य किसिमको लक्षणहरू आएर देखिन्थ्यो चार–पाँच वर्ष अगाडि। अहिले इन्फ्लुएन्जामा कडा लक्षणहरू देखिने गरेको छ।
उच्च ज्वरो आउने, डेँगुका र इन्फ्लुएन्जाका लक्षणहरू लगभग मेल खाने, बिरामीहरू एकदम सिकिस्त हुने (कतिपयलाई त निमोनिया पनि भएको छ) देखिएको छ।
इन्फ्लुएन्जाबाट छातीमा संक्रमण हुनु भनेको एकदमै जोखिम हो। कति बिरामी अक्सिजन लगाएर आईसीयूमा पनि हुनुहुन्छ। भएको चाहिँ भाइरल निमोनिया नै हो।
सुरु भएको त रुघाखोकीबाट नै हो। त्यही नै बिग्रेर निमोनिया भएको देखिन्छ।
सिजनल फ्लु भनेर भन्छौँ नि! नेपालमा यो वर्षमा दुई पटक आउँछ। मौसम परिवर्तन हुने बेला इन्फ्लुएन्जाको संक्रमण भाइरसबाट हुने गर्दछ। यसबाट जोगिनको लागि सरकारले पनि इन्फ्लुएन्जा भ्याक्सिनमा जोड दिनुपर्छ।
म कहाँ आउने बिरामीहरूलाई इन्फ्लुएन्जा भ्याक्सिनका बारेमा थाहा नै छैन। म बुझाउन प्रयास गरिरहेको हुन्छु।
यो लगाउनुपर्छ र भनेर बिरामीहरू दोधारमा भएको पाउँछु। यो भ्याक्सिन सबैले लगाउनुपर्ने बेला आइसकेको छ।
इन्फ्लुएन्जा लागी निमोनिया भएर मृत्यु हुनु भनेको त एकदमै भयावह अवस्था हो। यसपालि भाइरल निमोनियाको केस अलिक धेरै नै देखिएको छ। त्यसैले सतर्क रहनुपर्छ।
डेँगु संक्रमणको अवस्था कस्तो छ अहिले?
डेँगु संक्रमित हुनेहरूको संख्या बढेको छ। यसबाट बच्न मुख्यतः लामखुट्टेलाई नियन्त्रण गर्नुपर्छ। लामखुट्टेलाई प्रजनन गर्ने वातावरण बन्न दिनु हुँदैन।
जाडो महिना आयो डेँगु लाग्दैन भनेर हेलचेक्र्याइँ भएको हो कि भन्ने लाग्यो। हामीले रुघाखोकीका बिरामी, सिजनल फ्लुका बिरामी अझै पनि भेटिरहेका छौँ।
चाडपर्वको मुखमा वृद्धवृद्धाहरू डेँगु भएर आइरहनुभएको छ। डेँगु हुन नदिन मंसिर नलागेसम्म सतर्क हुनुहोस्।
कात्तिक महिनाभरि डेँगुको डर छ। त्यो सँगसँगै रुघाखोकी भएर आउने बिरामी धेरै देखिन्छन् यो समयमा। वार्षिक फ्लु सिजन आउनुभन्दा अगाडि फ्लु भ्याक्सिन लगाएर फ्लुको जोखिमबाट जोगिनुपर्छ।
फ्लु भ्याक्सिन सजिलैसँग पाइन्छ। जहाँ गएर लगाउँदा पनि हुन्छ। सामान्य मूल्यमा हरेक परिवारले लगाउन मिल्छ। ज्येष्ठ नागरिक, बालबालिकालाई पनि यो भ्याक्सिन सुरक्षित छ।
डेँगुबाट बच्न के गर्नु पर्ला?
सूर्योदय भएको दुई घण्टा र सूर्यास्त हुनुभन्दा दुई घण्टा अगाडि डेँगुका लामखुट्टे एकदमै सक्रिय हुन्छन्।
त्यतिबेला आफूलाई जोगाउनु पर्छ। रातिभन्दा पनि यसले दिउँसो टोक्ने भएकोले दिउँसो बाहुला भएको कपडा लगाउने, मलमहरू लगाउने, बालबालिकालाई पूरा बाहुला भएका कपडा लगाइदिनु पर्छ।
पानी जमेको ठाउँ माटोले पुरिदिने गर्नुपर्छ। यस्तै, बाल्टिन, ट्याङ्कीमा पानी छ भने बिर्को लगाइदिने गर्नुपर्छ।
घर वरिपरि झाडी छ भने सफा राख्ने। पुरानो टायरहरूमा पनि लामखुट्टेको रिप्रोडक्सन बढी हुन्छ। ती पुराना टायरलाई नष्ट गर्नु पर्छ।
डेँगु सामान्य भाइरल ज्वरो हो। आतंकित हुनुभएन। तर, सचेत हुनुपर्छ।
डेँगु लागिसकेपछि सामान्य औषधि, सिटामोल खाएर, झोल खानेकुराको मात्रा बढाएर, आराम गरेर निको पार्न सकिन्छ।
सामान्य लक्षण हुनेहरू अस्पताल नआउँदा पनि फरक पर्दैन। तर, टाउको दुख्ने, उच्च ज्वरो आउने, जिउ दुख्ने, मांसपेशीहरू एकदमै दुख्ने, हात गोडामा बिबिरा आउने, नाक, मुखबाट रगत आउने, पेट दुख्ने, दिसामा रगत आउने, वान्ता हुने, खाना खान नसक्ने अवस्था भयो भने तुरुन्तै अस्पताल जानु पर्छ।
Shares
प्रतिक्रिया