राष्ट्रपति रामचन्द्र पौडेलले महाअष्टमीका अवसरमा आज (आइतबार) काभ्रेस्थित पलाञ्चोक भगवतीको दर्शन तथा पूजाअर्चना गरेका छन्।
पलाञ्चोक भगवती मन्दिरमा दर्शन गर्न राष्ट्रपति पौडेल आइतबार बिहान पाँचखाल आइपुगेका हुन्। पूजाअर्चनामा प्रथम महिला सविता पौडेल पनि सहभागी भएकी थिइन्।
बडादसैँका अवसरमा महाअष्टमीको दिन राष्ट्र प्रमुखले पलाञ्चोकसहित नव दुर्गा भगवतीको दर्शन तथा पूजाअर्चना गर्ने परम्परा छ।
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका –९ स्थित पलाञ्चोक भगवतीको मन्दिर नेपालमा रहेका भगवती मन्दिरमध्ये सबैभन्दा पुरानो मानिन्छ।
पलाञ्चोक भगवतीको मन्दिर करिब एक हजार ६ सय ५५ वर्ष पहिले अर्थात् इस्वी संवत् ४२५ सालमा निर्माण भएको हो।
पलाञ्चोक भगवतीलाई दुर्गा भगवतीको जेठी दिदीका रुपमा समेत लिने गरिन्छ।
जिल्लाको बुच्चाकोट भन्ने स्थानमा रहेको पलाञ्चोक भगवतीको मूर्ति एकरात स्थानीय वृद्धको सपनामा प्रकट भई आफू रहेको स्थानबाट उत्तरतर्फ सार्न आग्रह गरेको किंवदन्ती छ।
भगवतीको मूर्तिलाई उत्तरतर्फ लैजाने क्रममा हालको मन्दिर रहेको स्थानमा पुग्दा रात परेपछि त्यहीँ बास बसेको र भोलिपल्ट बिहान त्यहाँबाट मूर्तिलाई अन्यत्र लैजान स्थानीय ६० घरधुरीको मद्दतबाट पनि भगवतीको मूर्ति बोक्न नसकेपछि सोही स्थानमा राखी पूजाआजा गर्ने गरिएको किंवदन्ती रहेको मन्दिरका पुजारी शैलेश्वर बज्राचार्यले जानकारी दिए।
हेर्नुहोस् थप तस्बिर-
Shares
प्रतिक्रिया