ad ad

समाज


छोरीमात्र भएका बन्ध्याकरण गर्ने दम्पतीलाई सम्पत्ति करमा छुट

छोरीमात्र भएका बन्ध्याकरण गर्ने दम्पतीलाई सम्पत्ति करमा छुट

नेपालखबर
कात्तिक १३, २०८० सोमबार ६:१२, तनहुँ

तनहुँको व्यास नगरपालिका कार्यालयले छोरी मात्र पाएर बन्ध्याकरण गर्ने दम्पत्तिलाई नगरपालिकाबाट लगाइने करमा छुट दिने नीति लिएको छ।

नगरपालिकाको नीति तथा कार्यक्रममा ‘लैङ्गिक भेदभाव मुक्त व्यास नगर’ बनाउने उद्देश्य अनुरुप छोरी २० वर्ष नपुग्दासम्म सम्पत्ति कर लगायतका सबै करमा २० प्रतिशत छुट दिएको हो । व्यास नगरपालिकाभित्रका महिलाको क्षमता विकास एवं सीप विकास गरी आत्मनिर्भर बनाउनका लागि ‘उपप्रमुख महिला सीप विकास कार्यक्रम’ सञ्चालन गर्न लागेको छ।

‘आत्मनिर्भर छोरी सशक्त व्यास नगर’ अभियानमा छोरीको २० वर्ष पुगेपछि मात्र विवाह गर्ने दलित, आदिवासी जनजाति दुरा, बोटे, दराई, कुमाल, चेपाङको छोरीलाई सम्मान गर्दै त्यस्ता छोरीको अध्ययनमा सहयोग गर्ने नीति लिएको हो।

उमेर २० वर्ष पुगेपछि मात्र विवाह गर्न प्रचारप्रसार एवं अभिमुखीकरण लगायतका सचेतनामूलक कार्यक्रम गरिने व्यास नपाका प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिए । नगरपालिकाभित्र स्थायी बसोबास गर्ने कक्षा १२ सम्म योग्यता हासिल गरेका विपन्न बेरोजगार महिलालाई उद्यमशीलता विकासका लागि अनुदानको व्यवस्था मिलाइएको छ।

व्यास नगरपालिकामा स्वास्थ्य सङ्कटमा रहेका विपन्न महिलालाई आर्थिक सहयोग प्रदान गरी जीवनरक्षामा सहयोग पु¥याउने लक्ष्य नगरपालिकाको रहेको उनले बताए । महिलाद्वारा सञ्चालित सहकारीलाई व्यवस्थित गर्ने कार्यमा सहजीकरण गर्दै ‘महिलासँग उपप्रमुख कार्यक्रम’ अन्तर्गत गर्भवतीको पोषणका लागि सहयोग गर्ने कार्यक्रम रहेको छ।

व्यास नगरपालिकामा लैङ्गिक हिंसा निवारण कोष सञ्चालन गरी हिंसामा परेका महिलालाई कानुनी उपचारका लागि सहयोग एवं उनीहरुको सुरक्षा र संरक्षणको व्यवस्था मिलाउने योजना रहेको छ । उच्च शिक्षा अध्ययन गर्ने आर्थिक रुपमा विपन्न रहेका छात्रालाई छात्रवृत्ति उपलब्ध गराई पठनपाठनमा सहजीकरण गर्न लागेको व्यास नपाकी उपप्रमुख इन्दिरा दरैले बताइन्।

दलित, सिमान्तकृत लोपोन्मुख जाति एवं मुस्लिम समुदायका महिलालाई नेतृत्व विकास एवं सीप विकासका विभिन्न कार्यक्रममार्फत सशक्तीकरण गर्ने योजना नगरपालिकाले लिएको छ। 

व्यास नपाका महिला जनप्रतिनिधिको नेतृत्व र क्षमता विकास गर्नका लागि प्रशिक्षण, अवलोकन भ्रमण, अनुसन्धानात्मक गतिविधि सञ्चालन गर्ने र अनुभव आदान प्रदान गर्ने कार्यक्रम ल्याइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .