गैरआवासीय नेपाल संघका सबै बैंक खाता रोक्का गर्न निवेदन परेको छ।
११ औं महाधिवेशनमा धाँधली भएको भन्दै समानान्तर समिति गठन गरेको राजेन्द्रकुमार शर्मा (आरके) नेतृत्वको समूहले बैंक खाता रोक्का गर्न निवेदन दिएको हो।
अनलाइनबाट भएको मतदानमा निर्वाचन समितिले डा. बद्री केसीको समूह विजयी भएको घोषणा गरेको थियो।
तर, अध्यक्षका प्रतिस्पर्धी राजेन्द्रकुमार शर्मा र महेशकुमार श्रेष्ठले धाँधली भएको आरोप लगाउँदै पुनः निर्वाचनको माग गरिरहेका छन्।
उनीहरूले समानान्तर नयाँ कार्यसमिति घोषणासमेत गरेका छन्। शर्माको समूहमा बुद्धिसागर सुवेदी महासचिव छन्।
सुवेदीले केसीको समूहले धाँधली गरी जितेको बताउँदै खाता रोक्का गर्न गैरआवासीय संघको सचिवालय र बैंकहरुमा निवेदन दिएको बताए।
‘राजेन्द्रकुमार शर्माको नेतृत्वलाई आधिकारिकता दिने प्रक्रियामा रहेका छौं,’ सुवेदीले नेपालखबरसँग भने, ‘विवादको अवस्थामा संस्थाको रकम हिनामिना हुन सक्ने भएकाले अहिले रोक्का गर्न निवेदन दिएका छौं।’
गैरआवासीय नेपाली संघको १५–१६ वटा बैंकमा खाता भएपनि मुख्यत ३–४ वटाबाट बढी कारोबार हुने गरेको छ। सुवेदीका अनुसार सानिमा बैंक, ग्लोबल आईएमई बैंक, प्रभु बैंकमा बढी रकम रहेको छ। शर्मा समूहले बैंकका प्रमुख कार्यकारी अधिकृतलाई भेटेर खाता रोक्का गर्न निवेदन दिएको हो।
Shares
प्रतिक्रिया