महोत्तरीबाट काठमाडौँतर्फ आउँदै गरेको कार आज शुक्रबार दिउँसो बीपी राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिका–८ स्थित रोशी खोलामा खस्दा तीन युवतीसहित एकै वडाका चार जना घाइते भएका छन्।
प्रहरीले दिएको जानकारीअनुसार बीआरओ ६ डीई४३११ नम्बरको कार आज दिउँसो सवा १२ बजे आफैँ अनियन्त्रित भई बीपी राजमार्गबाट अन्दाजी १५ मिटर तल रोशी खोलामा खसेको हो।
दुर्घटनामा कारमा सवार महोत्तरीको गौशाला नगरपालिका ५ बस्ने वर्ष २३ का धीरेन्द्र चौधरी, सोही ठेगानाका २० वर्षीया खुस्बु चौधरी, वर्ष १९ की प्रेमिका चौधरी र वर्ष १९ की अञ्जली चौधरी घाइते भएका हुन्। सबै घाइते एकै वडाका हुन्।
नार्के मेडिकलमा प्राथमिक उपचारपछि थप उपचारका लागि उनीहरूलाई धुलिखेल अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ।
कार चालक भने सकुशल रहेको र घाइतेको उपचारमा संलग्न भएको प्रहरीले जनाएको छ।
897
Shares
प्रतिक्रिया