नेपालका लागि चिनियाँ राजदूत छेन सङले छिमेकीलाई परेको दु;खमा आफूहरुले सधैं साथ दिने बताएका छन्।
चिनियाँ जनमुक्ति सेनाको दुईवटा जहाजबाट जाजरकोट भूकम्पपीडितका लागि ल्याइएका राहत सामग्री पोखरामा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरणका क्रममा उनले यस्तो बताएका हुन्।
चिनियाँ राजदुत सङले चीन सरकारले पठाएका राहत सामाग्री बुझाउने क्रममा शुक्रबार रातिको भूकम्पका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दु:ख व्यक्त गरेका छन्।
बुधबार बिहान पोखरा विमानस्थलमा चिनियाँ सेनाको दुईवटा एयरक्राफ्टमार्फत आएका झन्डै ३० करोड मूल्य बराबरको सामाग्री उपप्रधानमन्त्री श्रेष्ठले बुझे।
त्यसक्रममा राजदूत सङले पश्चिम नेपालमा भूकम्पका कारण भएको मानवीय र भौतिक क्षतिप्रति दु:ख व्यक्त गर्दै मृतकहरूमा श्रद्धाञ्जली र पीडामा परेकाहरूमा समवेदना व्यक्त गरे।
नेपाल र नेपाली जनताको दु:खमा आफ्नो देशको सधैँ साथसहयोग रहने उनले दोहोर्याए।
राष्ट्रपति सी चिनफिङले समेत पत्र पठाएर संवेदना जाहेर गरेको उनले बताए।
उता उपप्रधानमन्त्री श्रेष्ठले सहयोगका लागि चिनियाँ सरकारप्रति कृतज्ञता जाहेर गरे। नेपाल र चीन ऐतिहासिक मित्रदेश भएको, दुवै मुलुक एकअर्काको दु:खमा साथमा रहेको र यो द्रूत सहयोगले त्यसलाई अझ प्रमाणित गरेको उपप्रधानमन्त्री श्रेष्ठले बताए।
चीनबाट दुईवटा एयरक्राफ्टबाट चार हजार छ सय ब्लाङ्केट र छ सय टेन्ट आएका छन्। यता केरुङ नाका हुँदै चिनियाँ सरकारले झन्डै १० करोड बराबरको २३ ट्रक छुट्टै राहत सामाग्री पठाएको छ।
जसमा दुई हजार तीन सय टेण्ट, दुई हजार ब्लाङ्केट, सात सय टर्पलिन, पाँच सय वटा महामारी रोक्ने स्पेयर र साढे १० हजार वटा लामखुट्टे मार्ने औषधि छन्।
बुधबार बिहान काठमाडौं आइपुगेको उक्त सामाग्री तत्काल प्रभावित क्षेत्रमा पठाइने छ। पोखरा आएको सागाग्री पनि प्रभावित क्षेत्रमा पठाउने तयारी सरकारले गरेको छ।
Shares
प्रतिक्रिया