नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव जारी छ भने यतिबेला (बिहीबार बिहान) देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसमविद्का अनुसार आंशिक बदली भनेको आकाशमा कतै कतै बादल हुनु हो।
महाशाखाको बिहानी बुलेटिनअनुसार दिउँसो पनि पहाडी क्षेत्रमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।
यस क्रममा दिउँसो देशको पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ।
महाशाखाले जनाएअनुसार राति देशको पहाडी क्षेत्रमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।
यस क्रममा राति कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना पनि छ।
मौसमविद्का अनुसार एक÷दुई स्थानमा मात्र वर्षा वा हिमपातको सम्भावना हुनु भनेको सम्भावना कम हुनु हो।
Shares
प्रतिक्रिया