ad ad

समाज


कात्तिक नाचमा देखाइयो नृसिंह अवतारको गाथा

कात्तिक नाचमा देखाइयो नृसिंह अवतारको गाथा

नेपालखबर
मंसिर १०, २०८० आइतबार १४:१५, काठमाडौँ

ललितपुरको मंगलबारमा कात्तिक नाच सुरु भएको ८औँ दिन नृसिंह अवतारको गाथा प्रस्तुत गरिएको छ।

मंसिर २ गतेबाट सुरु भएको कात्तिक नाचमा शनिबार राति नृसिंह अवतार (हिरण्यकश्यपु वध) देखाइएको हो।

अभिलेखअनुसार विसं. १६९७ बाट सुरु भएको ऐतिहासिक कात्तिक नाच भगवान् विष्णुसँग सम्बन्धित १७ वटा धार्मिक कथासँग जोडिएको छ।

यो ऐतिहासिक नाच पाटनका तत्कालीन राजा सिद्धिनरसिंह मल्लले आफ्ना गुरुहरू हरिवंश राजोपाध्याय र विश्वनाथ उपाध्यायको सल्लाहअनुसार तत्कालीन दरबार चोकभित्र रहेको भगवान् श्रीकृष्णको मन्दिर निर्माण सम्पन्न भएको उत्सव मनाउन पहिलो पटक सुरु गरेको इतिहास छ।

कात्तिक नाच हरेक वर्ष कात्तिक महिनामा प्रदर्शन गरिने नृत्य र संगीतमा आधारित भएर देखाइने नृत्य नाटक हो।

भिडिओ

यो नाच पाटन दरबार स्क्वायरमा अवस्थित कात्तिक डबलीमा मञ्चन गरिन्छ। सुरुमा यो नाच राजा सिद्धिनरसिंह मल्लले ५ दिनको लागि नाशल चोकमा देखाएर यसको सुरुवात गरेका थिए।

स्थानीय किरण चित्रकार कात्तिक नाच आजभन्दा ३८३ वर्ष (विसं. १६९७) मा राजा सिद्धिनरसिंह मल्लको पालामा उनका गुरुद्वय हरिवंश उपाध्याय र विश्वनाथ उपाध्यायको सल्लाहमा सुरु भएको बताउँछन्।

सुरुवातीमा ५ दिन प्रस्तुत गरिने गरिएको यस नाचमा सिद्धिनरसिंह मल्लका छोरा श्रीनिवास मल्लले ७ दिन थपेर १२ दिन पुर्‍याएका हुन्। त्यसपछि श्रीनिवासका छोरा योगनरेन्द्र मल्लले यसमा अरू १५ दिन थपेर महिनाभर सञ्चालन गर्ने प्रचलन ल्याएको चित्रकार बताउँछन्। महिनाभर मनाउने प्रचलन भए पनि विभिन्न समयमा विविध कारणवश मनाउन नसकिएको चित्रकारको भनाइ छ।

‘कात्तिक नाच आजभन्दा ३८३ वर्ष (विसं. १६९७) अघि राजा सिद्धिनरसिंह मल्लको पालामा उनका गुरुद्वय हरिवंश उपाध्याय र विश्वनाथ उपाध्यायको सल्लाहमा सुरु भएको हो,’ चित्रकार भन्छन्, ‘सुरुआती दिनमा पाँच दिन मनाउने गरी सुरु भएको यस नाचमा सिद्धिनरसिंह मल्लका छोरा श्रीनिवास मल्लले ७ दिन थपेर १२ दिन पुर्‍याए। पछि फेरि  श्रीनिवासका छोरा योगनरेन्द्र मल्लले अरू १५ दिन थपेर महिनाभर सञ्चालन गर्ने परम्परा बस्यो।’

कात्तिक महिनाभर प्रदर्शन गर्ने भएकाले यस नाचलाई कात्तिक नाच भन्ने गरिएको चित्रकार बताउँछन्।

कात्तिक नाच सुरुमा ‘बाथः प्याखँ’ बाट सुरु हुन्छ। यो तीन दिनसम्म देखाइन्छ। त्यसपछि भगवान् विष्णुको विभिन्न कथामा आधारित नाचहरू प्रस्तुत गरिन्छ। तत्कालीन समयमा देशमा शान्ति, समृद्धि र मनोरञ्जनको हेतुले यो नाच सुरु भएको मानिन्छ।

कुनै समय कात्तिक महिनामा २७ दिन अर्थात् महिना दिनसम्म देखाइने हुँदा यो नाच कात्तिक नाचको नामले परिचित छ। परापूर्वकालमा कात्तिक महिनाभर मनाइँदै आएको उक्त नाच पछिल्ला वर्षमा भने विविध कारणले गर्दा केही दिन मात्र देखाउन थालिएको छ।

यस वर्ष मंसिर २, ३ र ४ गते बाथः प्याखँ, ५ गते युद्ध कला (शितज्वर/विषमज्वर युद्ध, महादेव/कृष्ण युद्ध), ६ गते देवी प्याखँ, ७ गते ज्ल शयण, ८ गते बराह अवतार, ९ गते नृसिंह अवतार, १० गते वस्त्रहरण लिला, ११ गते दधि लिला देखाइनेछ।

तस्बिरमा नृसिंह अवतारको गाथा-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .