पर्साको ठोरी गाउँपालिकामा नातिले लाठी प्रहार गर्दा हजुरबुबाको मृत्यु भएको छ। छोरीका छोरा (नाति) ३६ वर्षीय कृष्णबहादुर खड्काले कोदो चुट्ने लाठी ८२ वर्षीय हजुरबुबा लक्ष्मण लामामाथि प्रहार गर्दा उनको मृत्यु भएको हो।
छिमेकीको घरमा नाति कृष्णबहादुरले कोदो चुटिरहेका बेला हजुरबुबा लक्ष्मण पनि त्यहाँ पुगेका थिए। नातिलाई ‘तिमी छाडिदेऊ म चुट्छु’ भन्दा आवेगमा आएका कृष्णबहादुरले हजुरबुबा लक्ष्मणमाथि लाठी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए।
लाठी प्रहारबाट लक्ष्मण बेहोस भएर ढढेका थिए। टाउकामा गम्भीर चोट लागेर अचेत भएपछि उनलाई उपचारका लागि ठोरी गापा–२ स्थित स्वास्थ्य चौकीमा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीको भनाइ छ। कृष्णबहादुरलाई स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएका थिए। लक्ष्मणको शव परीक्षणका लागि नारायणी अस्पताल वीरगञ्ज ल्याइएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
ट्रयाक्टर दुर्घटनामा मृत्यु
पर्साको पर्सागढी नगरपालिकामा ट्रयाक्टर दुर्घटनामा परेर एक वृद्धाको मृत्यु भएको छ। पर्सागढीबाट आउँदै गरेको प्रदेश २–०३–००१ त ५५५४ नंको ट्र्याक्टर अनियन्त्रित भई पल्टिँदा ट्र्याक्टरमा सवार पर्साको जिराभवानी गाउँपालिका–४ बस्ने ७० वर्षीया केशरजिया देवी थरूनीको मृत्यु भएको प्रहरीले जनाएको छ।
पर्सागढी नगरपालिका–३ मा रहेको आमोदेवी मन्दिरमा लागेको मेला हेरेर घर फर्किने क्रममा गएराति ११ बजे पर्सागढी नगरपालिका–२ बरवाछोटैली गाउँ नजिकै ट्रयाक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ। रासस
Shares
प्रतिक्रिया