पश्चिमी वायुसँगै भारतको राजस्थान आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभावको कारण आज देशका केही भूमागमा मौसम बदली भएको छ।
हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
काठमाडौँ उपत्यकाको आकाशमा आज बिहानैदेखि बादल लागिरहेको छ। आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै ठाउँमा वर्षाकोसमेत सम्भावना रहेको महाशाखाले जनाउको छ।
आज देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए।
‘देशका पहाडी भू-भागका एक-दुई स्थानमा आज हल्का वर्षाकोसमेत संभावना छ,’ नेपालखबरसँग उनले भने, ‘देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा आज हल्का हिमपातसमेत हुनसक्छ।’
आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज बिहान पौने ६ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १२.२ डिग्री सेल्सियस मापन गरिएको छ।
Shares
प्रतिक्रिया