ad ad

समाज


सुवर्ण क्षेत्रीको संस्मरण पुस्तक ‘सपना, विश्वास र अठोट’ लोकार्पण

सुवर्ण क्षेत्रीको संस्मरण पुस्तक ‘सपना, विश्वास र अठोट’ लोकार्पण

नेपालखबर
मंसिर १४, २०८० बिहिबार १७:१७, काठमाडौँ

पुराना खेलकर्मी तथा मिस नेपालको आयोजक हिडन ट्रेजरका पूर्वअध्यक्ष सुवर्ण क्षेत्रीको संस्मरण पुस्तक सपना, विश्वास र अठोट बिहीबार काठमाडौँमा लोकार्पण भएको छ।

पुस्तकमा खेल पत्रकारिता, नेपाली खेलकुद्, जेसिज यात्रा र मिस नेपाल प्रतियोगिताको संस्थापकका रुपमा उनका अनुभवहरु रोचक ढंगले प्रस्तुत गरिएको छ। नेपालले पहिलो पदक जितेको अन्तर्राष्ट्रिय प्रतियोगिता एसियाली खेलकुद (एसियाड) मा सेभ दि मिसन हुँदाको अनुभवलाई पनि क्षेत्रीले आफ्नो पुस्तकमा समेटेका छन्।

सुन्दरी प्रतियोगिताबारे दुई धारका धारणा नेपाली समाजमा रहीरहेका बेला क्षेत्रीलगायतको टिमले तीन दशकदेखि युवा सशक्तिकरणका रुपमा निरन्तरता दिइरहेको छ।  

क्रियटिभ बुक्सले प्रकाशन गरेको क्षेत्रीको आत्मकथा उद्योगपति एवं साहित्यकार बसन्त चौधरी, प्रथम मिस नेपाल रुबी राणा, जेसिज नेपालका पूर्वअध्यक्ष गजेन्द्र श्रेष्ठ, वरिष्ठ पत्रकार पी खरेल, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्वकोषाध्यक्ष विष्णुगोपाल श्रेष्ठ, प्रकाशक टीएस ठकुरी र पुस्तकका सम्पादक जनक नेपालले संयुक्त रुपमा विमोचन गरेको थिए।

वक्ताहरुले क्षेत्रीलाई बहुआयमिक व्यक्तित्व र आफूसँगको सम्बन्धका बारेमा प्रकाश पारेका थिए। साहित्यकार चौधरीले ४ दशकदेखिको आफूहरुको सम्बन्धलाई स्मरण गरेका थिए। लामो संगतको अनुभवबाट क्षेत्रीलाई विश्वास गर्न योग्य व्यक्तिका रुपमा पाएको बताए।

राखेप पूर्वकोषाध्यक्ष श्रेष्ठले शरदचन्द्र शाहाको नेतृत्वमा आफूहरु खेलकुद विकासमा प्रतिबद्ध भएर लागेको स्मरण गरे।

‘नेतृत्वको प्रतिबद्धता भएको अवस्थामा काम गर्न सहज र सफल हुन सकिन्छ,’, उनले भने,‘ सुवर्ण जी हामी त्यहि अनुसार अघि बढेका हौं।’

उनले आफ्नो अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न क्षेत्रीको पुस्तक सार्थक हुने विश्वास लिएको बताए।

प्रथम मिस नेपाल राणाले क्षेत्री आफ्ना लागि मात्र नभई धेरैका लागि अभिभावक, संरक्षक र पिता समान भएको बताइन्। वरिष्ठ पत्रकार खरेलले खेलकुदको सदस्य–सचिव शाहको नेतृत्वमा क्षेत्रीलगायतको कार्यकाल स्वर्णिम रहेको र त्यति बेला खेलकुद पत्रकारिताले केही आकार लिएको बताए।

जेसिसका पूर्वअध्यक्ष श्रेष्ठले क्षेत्रीलाई अनुशासित, सहयोगी, मेन्टर, राम्रो लेख्न र बोल्न सक्ने क्षमता भएको व्यक्तित्वका रुपमा आफूले लिने गरेको बताए।

पुस्तकका सम्पादक नेपालले क्षेत्रीको जीवन यात्रा रोचक र प्रेरणादायी रहेको उल्लेख गर्दै संस्मरणले युवापुस्तालाई सकारात्मक उत्साह भर्ने बताए। कार्यक्रममा क्षेत्रीले आफ्नो जीवनको उतारचढावलाई पुस्तकमा समेटिएको बताए।

उनले इतिहास बिर्सियो भने बर्तमानमा अप्ठेरो पर्ने चर्चा गर्दै होटलको रोजगारी, पत्रकारिता, खेलकुदमा प्रवेश र पछिल्लो समय जेसिज हुँदै हिडन ट्रेजरसम्मको यात्राको स्मरण गरेका थिए।

प्रकाशक ठकुरीले क्षेत्रीको यात्रा नयाँ पुस्ताका लागि प्रेरणाको श्रोत हुनसक्ने बताए। उनले खेलकुदमा लिखित दस्तावेजको कमी रहेकोले क्षेत्रीको आत्मकथाले त्यो समयलाई केही प्रकाश पार्ने बताए। आत्मकथा बिहीबारबाट बजारमा विक्री पनि सुरु भएको छ।

नेपाली खेलाडीको आत्मकथा ‘ओलम्पियन’बाट प्रकाशन आरम्भ गरेको क्रियटिभ बुक्सको १२ औं पुस्तक हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .