सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमन बिकको हत्या सम्बन्धि मुद्दामा जिल्ला अदालत महोत्तरीमा एमाले सांसद लक्ष्मी महतो कोइरीविरुद्ध दुई दिनदेखि निरन्तर सुनुवाइ चलिरहेको छ। मंगलबार पनि कोइरीविरुद्धको मुद्दामा सुनुवाइ जारी छ।
जिल्ला अदालत महोत्तरीका न्यायाधीश उद्धबप्रसाद भट्टराईको इजलासमा अहिले पनि कोइरीविरुद्धको मुद्दामा सुनुवाइ भइरहेको जिल्ला सरकारी वकिल कार्यालय महोत्तरीका प्रमुख पदमप्रसाद वस्तीले बताए।
२०७२ भदौ २५ गते मधेश आन्दोलनका क्रममा घाइते भएका सशस्त्र प्रहरीका असई बिकलाई उपचारका लागि जलेश्वरबाट जनकपुर अस्पताल लैजाँदै गर्दा एम्बुलेन्सबाट झारेर हत्या गरिएको थियो।
हत्यामा तत्कालीन मधेशवादी दलका नेता (हाल एमालेका निलम्बित सांसद) लक्ष्मी महतो कोइरीको पनि संलग्नता रहेको भन्दै मुद्दा दायर भएको थियो। त्यतिबेला कोइरीसहित २८ जनाविरुद्ध ज्यान मुद्दा दायर भएको थियो।
जिल्ला अदालत महोत्तरीले ०७६ असोज २ गते महतोलाई १ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। असई विकका आफन्त प्रेमबहादुर विक जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदनमा गएपछि जनकपुर उच्च अदालतले ०७७ मंसिर १९ गते महतोलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दिएको थियो। त्यसयता कानुनको नजरमा कोइरी फरार छन्।
अदालतको आदेशअनुसार घटनामा संलग्न केही व्यक्ति जेल सजाय भुक्तान गरिरहेका छन् भने केही अझै फरारको सूचीमा छन्। फरारमध्येका एकजना कोइरी पनि हुन्।
उनीविरुद्धको अर्को मुद्दा अहिले पनि उच्च अदालत जनकपुरमा विचाराधीन अवस्थामा छ।
प्रहरीको फरार सूचीमा रहेका कोइरी २०७९ मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए।
प्रहरीको फरार सूचीमा रहेका कोइरीले वारेसमार्फत प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराएका थिए भने चुनाव जितेपछि प्रमाणपत्र पनि वारेसमार्फत नै लिएका थिए।
निर्वाचनपछि महोत्तरीका सार्वजनिक कार्यक्रममा नदेखिएका कोइरी संसद भवन नयाँवानेश्वरमा भएको सांसदको सपथ ग्रहण कार्यक्रममा भने सहभागी भएका थिए। त्यसपछिका केही संसद बैठकमा पनि सहभागी भएका कोइरी प्रहरीले पक्राउ गर्ने तयारी गरेपछि भने फरार छन्।
महोत्तरी जिल्ला अदालतमा कोइरी विरुद्धको मुद्दाको अन्तिम सुनुवाई चलिरहँदा थमन बिककी पत्नी शोभा गहतराज न्यायको माग गर्दै काठमाडौँ आएकी छन्।
- सांसद लक्ष्मी महतो कोइरीलाई कारबाही माग गर्दै थमन विककी श्रीमती काठमाडौँमा
- थमन विककी पत्नी शोभा भन्छिन्– हत्यारालाई सजाय देऊ भन्न ऋण काढेर सडकमा आउनुपर्ने कस्तो देश?
- भ्रष्टाचार अभियोग लागेका कांग्रेस सांसद निलम्बनमा परे, हत्या आरोपी एमाले सांसदलाई उन्मुक्ति!
- थमन विक हत्याकाण्डमा तानिन सक्छन् एमाले सांसद महतो!
Shares
प्रतिक्रिया