ad ad

समाज


कोइरीविरुद्धको मुद्दामा आज जवाफी बहस

कोइरीविरुद्धको मुद्दामा आज जवाफी बहस

निर्वाचनमा विजयी भएपछि लक्ष्मी महतो (बीचमा)। फाइल तस्बिर


नेपालखबर
मंसिर २८, २०८० बिहिबार ८:४७, महोत्तरी

नेकपा एमालेका निलम्बित सांसद लक्ष्मी महतो कोइरी जोडिएको ज्यान मुद्दामा आज महाेत्तरी जिल्ला अदालतमा जवाफी बहस हुँदैछ।

महोत्तरी जिल्ला अदालत जलेश्वरमा विगत चार दिनदेखि सशस्त्र प्रहरीका असई थमन विकको हत्या सम्बन्धि कोइरीविरुद्धको ज्यान मुद्दामा सुनुवाइ भइरहेको छ।

न्यायाधीश उद्ववप्रसाद भट्टराईको इजलासमा सोमबारदेखि भइरहेको सुनुवाइ ‘हेर्दाहेर्दै’मा राखिएको छ।

यो मुद्दामाथि हिजो (बुधबार) प्रतिवादीतर्फका कानुन व्यवसायीहरूले बहस गरेका थिए। आज सरकारी वकिलले फेरि जवाफी बहस गर्नेछन्। जवाफी बहस सकिएपछि मुद्दा फैसलाको चरणमा प्रवेश गर्ने जिल्ला अदालत, महोत्तरीकी स्रेस्तेदार नूतन झाले नेपालखबरलाई जानकारी दिइन्।

मधेश आन्दोलनको क्रममा सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई)थमन विकको जलेश्वरमा एम्बुलेन्सबाट निकालेर हत्या गरिएको थियो विक हत्यासम्बन्धी मुद्दामा एमाले सांसद कोइरीसहित २८ जना अभियुक्त कायम गरिएका छन्।

२०७२ भदौ २५ गते मधेश आन्दोलनका क्रममा घाइते भएका  विकलाई उपचारका लागि जलेश्वरबाट जनकपुर अस्पताल लैजाँदै गर्दा एम्बुलेन्सबाट झारेर धान खेतमा कुटिकुटी हत्या गरिएको थियो। 

कोइरी तत्कालीन मधेशवादी दलका नेता थिए। कोइरी नेतृत्वको समूहले विकको हत्या गरेको अभियोग छ। 

हत्या सम्बन्धि यो अभियोगमा जिल्ला अदालत महोत्तरीले ०७६ असोज २ गते महतोलाई १ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। असई विकका आफन्त (दाजु) प्रेमबहादुर विक जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत गएका थिए। उच्च अदालत, जनकपुरले ०७७ मंसिर १९ गते महतोलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दिए पनि त्यसयता कोइरी ‘फरार’ छन्।

प्रहरीको फरार सूचीमा रहेका कोइरी २०७९ मंसिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनमा एमालेको तर्फबाट महोत्तरी-१ बाट निर्वाचित भएका थिए। 

मधेशवादी दलबाट निर्वाचन जित्ने अवस्था नदेखेपछि उनी रातारात एमाले प्रवेश गरेका थिए। पार्टी प्रवेश गर्नासाथ एमालेले उनैलाई उम्मेदवार बनाएको थियो। प्रहरीको फरार सूचीमा रहेका उनले वारेसमार्फत् प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दर्ता गराएका थिए भने चुनाव जितेपछि प्रमाणपत्र पनि वारेसमार्फत् नै बुझेका थिए।

निर्वाचनपछि महोत्तरीका सार्वजनिक कार्यक्रममा नदेखिएका कोइरी संसद भवन नयाँ बानेश्वरमा सपथ ग्रहण कार्यक्रममा भने सहभागी भएका थिए। त्यसपछि संसदका केही बैठकमा उपस्थित भए पनि प्रहरीले पक्राउ गर्ने तयारी गरेपछि फेरि उनी ‘फरार’ भएका हुन्। 

महोत्तरी जिल्ला अदालतमा कोइरीविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ चलिरहँदा थमन विककी पत्नी शोभा गहतराज न्यायको माग गर्दै काठमाडौँ आएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .