ad ad

समाज


‘कान्ति बाल अस्पताल अभिभावकविहीन जस्तो देखियो’

‘कान्ति बाल अस्पताल अभिभावकविहीन जस्तो देखियो’

नेपालखबर
पुस २२, २०८० आइतबार १९:५१, काठमाडौँ

कान्ति बाल अस्पतालले आफ्नो ६२ औँ वार्षिकोत्सव मनाएको छ।

आइतबार एक समारोहको आयोजना गरी अस्पतालले ६२ औँ वार्षिक उत्सव मनाएको हो। कार्यक्रमको प्रमुख अतिथि थिए स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत।

कार्यक्रममा बोल्दै योजना आयोगका सदस्य डा. आरपी विच्छाले कान्ति बाल अस्पताल अभिभावकविहीन जस्तो देखिएको बताए। उनले स्वास्थ्य मन्त्री बस्नेतलाई अभिभाभकत्व ग्रहण गरेर यसका विद्यमान समस्या समाधानका लागि अग्रसर भइदिन आग्रह गरे।

कान्ति बाल अस्पतालका पूर्व निर्देशक समेत रहेका डा. बिच्छाले बल्ल तल्ल ४५ शय्यामा चलिरहेको बाल सघन उपचार कक्षको क्षमता बढाएर १०० शय्याको बनाउनु आवश्यक रहेको बताए।

बाल सघन उपचार कक्षको अभावमा अहिले पनि देशका कुनाकुनाबाट उपचारका लागि कान्ति आउने बालबालिका बाहिर रिफर गर्नु परेको अवस्थाको तत्काल सम्बोधन हुनु पर्नेमा डा. बिच्छाको जोड थियो।

कान्ति बाल अस्पतालका कार्यकारी निर्देशक डा. पंकज रायले अस्पतालको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै बिरामीको चापको आधारमा शय्या अभावका कारण अस्पताललाई समस्या परेको बताउँदै चालु आर्थिक वर्षमा सरकारले कान्ति अस्पतालको बजेट ४० प्रतिशतले कटौति गरेपछि आर्थिक समस्या पनि थपिएको बताए।

अस्पतालको कुल ३५२ शय्या मध्ये २४८ शय्या निशुल्क गरिएको डा. रायले जानकारी दिए। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा. बाबुराम गौतमले अस्पतालको सेवा विस्तारमा सरकारले सहयोग गर्नु पर्ने बताए।

कार्यक्रममा स्वास्थ्यमन्त्री बस्नेतले ३५२ शय्या मार्फत उपचार सेवा प्रदान गरिरहेको कान्ति बाल अस्पतालको सेवा विस्तार गरि चाँडै १००० शय्याको बाल स्वास्थ्य अध्ययन संस्थान बनाइने आश्वासन दिए।

कार्यक्रममा २० वर्ष सेवा अवधि पुरा गरेका कर्मचारीहरु र अस्पताललाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने दातृ निकायका अधिकारीलाई स्वास्थ्य मन्त्री बस्नेतले सम्मान गरेका थिए।

यसैबिच अस्पतालको बार्षिकोत्सवकै कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले कान्ति बाल अस्पतालमा जडान गरिएको एमआरआई र सिटिस्क्यान सेवाको पनि उद्घाटन गरेका छन्। जापान सरकार र जापनिज सहयोग नियोगको सहयोगमा यी उपकरण जडान गरिएका हुन्।

सिटिस्क्यान र एमआरआई सेवा सञ्चालनमा आएसँगै बिरामीले सहज रुपमा उपचार सेवा प्राप्त गर्ने छन्।

कार्यक्रममा स्वास्थ्य मन्त्री बस्नेतले जापान सरकारका प्रतिनिधि केनिचिरा हिजुकालाई सम्मान गरेका थिए। हिजुकाले बाल अस्पताललाई सहयोग गर्न पाउदा खुशी लागेको बताउँदै बालबालिका नै देशका कर्णाधार भएकाले उनीहरुको उपचार सेवा सर्वसुलभ र गुणस्तरीय हुनु पर्नेमा जोड दिए।

कार्यक्रममा मन्त्री बस्नेतले कान्ति बाल अस्पतालले आफ्नो ६२ औं वार्षिकोत्सवको अवसरमा प्रकाशित गरेको स्मारिकाको विमोचन समेत गरेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .