पहिलो र दोस्रो विश्वयुद्धमा ब्रिटिस सेनाको तर्फबाट लडेर ज्यान गुमाएका हजारौँ नेपाली युवा र तिनका परिवारलाई सम्झँदै सुप्रसिद्ध गायक स्व. झलकमान गन्धर्वले गाएका थिए, ‘आमैले सोध्लिन् नि’ बोलको विरह गीत!
सबैका आउँछन् सबैका जान्छन्
हाम्रा त आउँदैनन् र?
कि विदा पाउँदैनन् र?
‘आमैले सोध्लिन् नि’ सिर्फ गीत थिएन, यो त कालजयी गीत थियो। जुन कुरा रुस–युक्रेन युद्धसम्म आइपुग्दा फेरि पुष्टि हुन पुगेको छ। विश्वयुद्धमा जस्तै रुस–युक्रेन युद्धमा एकपछि अर्काे गर्दै नेपाली युवाहरुले ज्यान गुमाइरहेका छन्।
रुस–युक्रेन युद्धमा परी मृत्यु भएका नेपालीहरुको संख्या हालसम्म १२ पुगेको छ। पछिल्लो समय मृत्यु हुनेमा लमजुङको दुधपोखरी गाउँपालिका–१ का युवा साजन गुरुङ हुन्।
झलकमानको गीतको एउटा अंश रुस–युक्रेन युद्धमा गुमाउने स्व. साजन गुरुङको हकमा पनि मिल्न पुगेको छ। गीतको त्यो अंश हो ः
धरती चिरिने बास लियो
बाँसको छोरा तामा र!
दुश्मनको गोली शिरैमा लाउँदा
सम्झी बाबु आमा र!
जब साजन गुरुङ ‘शत्रु’ को घेरामा परे, जीवनको अन्तिम क्षण आइपुगेको ठानेर स्व. साजनले पनि बाबु–आमा, घरपरिवार सम्झिए। अनि साथमा रहेको फोनबाट घरमा सम्पर्क गरे।
‘साजनजी १४ पुसमा युक्रेनी सेनाको घेराबन्दीमा पर्नु भएको रहेछ, साजनजीसहित त्यो टोलीमा रुसको तर्फबाट लड्ने ७ सैनिक रहेछन्,’ मंगलबार (२ माघ) साजनका पिता श्रीमान् गुरुङ र आमा चेङ्दु गुरुङलाई लमजुङको दुधपोखरी गाउँपालिका– १ स्थित निवासमा भेटेर फर्केका माओवादी केन्द्र लमजुङका सचिव सुनिल सुनार (अटल) ले भने, ‘त्ससपछि आफ्नो जीवनको अन्तिम क्षण सम्झेर उहाँले बुबा–आमासँग कुरा गर्छु भन्दै भिडिओ कल गर्नुभएको रहेछ।’
सुनारका अनुसार साजनसहितको टोली त्यसै दिन केही समयअघि पनि युक्रेनी सेनाको घेराबन्दीमा परेको थियो। सुरुको घेराबन्दीबाट उनीहरु उम्किए, रुसी सेनाको सम्पर्कमा पुगे।
तर, रुसी सेनाले युक्रेनी सेनाको प्रतिरोधका लागि फेरि अग्रमोर्चामा पठायो।
सम्भवतः त्यो ठाउँमा रुसीभन्दा युक्रेनी पक्ष बलियो थियो। उनीहरु दोस्रो पटक पनि युक्रेनी सेनाको घेराबन्दीमा परे।
दोस्रो पटक युक्रेनी सेनाको अझ बलियो घेराबन्दीमा परेपछि साजनको बाँच्ने आशा म¥यो। उनले बाबु–आमा र घरपरिवार सम्झे। साथमा रहेको फोनबाट सम्पर्कको प्रयास गरे। बाबा श्रीमानसँग संयोगवश साजनको सम्पर्क भयो।
‘तर, बाबासँग बोल्दाबोल्दै साजनको सम्पर्क विच्छेद भएछ,’ दुधपोखरी गाउँपालिका उपाध्यक्ष क्षेत्रबहादुर गुरुङले भने, ‘त्यसपछि साजनको परिवारसँग सम्पर्क भएको छैन।’
साजनको पछिल्लो स्थितिबारे रुसी पक्षले नेपाल सरकारलाई अहिलेसम्म औपचारिक जानकारी दिएको छैन। यसआधारमा उपाध्यक्ष गुरुङ साजनको मृत्यु नै भएको हो भन्न नमिल्ने बताउँछन्।
‘परिवारका सदस्यहरुले भने साजनको मृत्यु भएको मानेको छ,’ माओवादी केन्द्र लमजुङका नेता एवं गाउँपालिका उपाध्यक्ष गुरुङले भने, ‘के आधारमा साजनको मृत्यु भयो भन्नु भएको हो, त्यो चाहिँ मलाई जानकारी छैन।’
साजन आफैँ माओवादी केन्द्र सम्बद्ध योङ कम्युनिस्ट लिग (वाईसीएल) दुधपोखरी गाउँपालिका अध्यक्ष थिए। उनका पिता श्रीमान् पनि लमजुङमा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य हुन्। उनी दुधपोखरी गाउँपालिका– १ का निर्वाचित सदस्य पनि हुन्।
वैदेशिक रोजगारीका लागि खाडी मुलुक जान्छु भनेर भदौमा घर छाडेका साजन रुसी सेनामा भर्ती भएको जानकारी परिवारले त्यतिबेला मात्र पायो, जब असोजमा उनले रुसी सेनाको सैनिक पोसकसहितको तस्बिर पठाए।
रुसी सेनामा भर्ती भएको केही समयपछि नै उनी युद्धभूमिमा पठाइए। त्यसपछि पनि साजनको लमजुङमा रहेको परिवारसँग इन्टरनेट–फोनमार्फत् सम्पर्क भइरहेको थियो।
युद्धमोर्चाबाट १४ पुसमा गरेको ‘कल’ परिवारसँग उनको अन्तिम कुराकानी हुन पुग्यो।
शोकाकुल परिवारलाई भेट्न आइपुगेका माओवादी केन्द्र लमजुङका सचिव सुनारसँग पिता श्रीमानले साजनसँग भएको सो अन्तिम कुराकानीबारे मंगलबार विस्तृत जानकारी गराएका थिए।
‘बाबा, हामी ७ जना दोस्रो पटक फेरि युक्रेनी सेनाको घेराबन्दीमा परेका छौँ,’ भिडिओ कलमा साजनले पिता श्रीमानलाई भनेको कुरा उद्धृत गर्दै सुनारले भने, ‘यो मेरो तपाईंलाई अन्तिम कल हो, अब हाम्रो भेट नहुन सक्छ।’
‘साजनले बुबा श्रीमानलाई यति मात्र भन्न पाउनु भएछ,’ सुनारले थपे, ‘यति भन्दाभन्दै सम्पर्क विच्छेद भएको रहेछ।’
सम्पर्क विच्छेद भएपछि साजनको परिवारले उनीसँग सम्पर्कको प्रयास गरिरह्यो। तर, दुई हप्तासम्म सम्पर्क हुन सकेन।
त्यसको दुई हप्तापछि जर्मनीमा रहेका साजनका भाइ कुमार गुरुङले घरपरिवारलाई जानकारी दिए, ‘रुसी सेनामा रहेका लमजुङका साथीहरुले दाजुको मृत्यु भइसकेको जानकारी गराएका छन्।’
सुनारका अनुसार साजनसँगै युक्रेनी सेनाको घेराबन्दीमा परेका बाँकी छ जना पनि अहिलेसम्म सम्पर्कविहीन छन्।
‘बाँकी ५ जना नेपाली नै हुन् वा विदेशी हुन्, त्यो चाहिँ उहाँहरुले बताउन सक्नु भएन,’ उनले भने, ‘तर, साजन हुनुहुन्न भन्ने कुराले उहाँहरु शोकमा हुनुहुन्छ।’
भारी गोलाबारीका बीच साजनको टोली युक्रेनी सेनाको घेराबन्दीमा परेको थियो। स्वर्गीय झलकमानको गीतले भनेजस्तै सम्भवतः साजनको मृत्यु पनि असिनाजस्तै वर्षिरहेका युक्रेनी सेनाको गोलीबाट हुन पुग्यो।
असिना जस्ता नि’ गोलीले
रणमा परी मरेछन् लाहुरे।
Shares
प्रतिक्रिया