ad ad

समाज


घर भाडामा लिएर काठमाडौंमा नक्कली मदिरा कारखाना, समातिए एकै गिरोहका ९ जना

घर भाडामा लिएर काठमाडौंमा नक्कली मदिरा कारखाना, समातिए एकै गिरोहका ९ जना

तस्बिर : नेपालखबर


नेपालखबर
माघ ३, २०८० बुधबार १३:५०, काठमाडौँ

काठमाडौंमा घर भाडामा लिएर सञ्चालन गरिरहेको नक्कली मदिरा कारखाना भेटएको छ। 

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-५ थलीस्थित एक घरभित्र नक्कली मदिराको कारखाना भेट्टाएको हो। 

उक्त कारखानामा स्वदेशी तथा विदेशी ब्राण्डका गुणस्तरहीन नक्कली मदिराहरू उत्पादन गरी कालो बजारी गरेको सूचनाका आधारमा अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार छापा हानेको थियो। 

कागेश्वरी मनोहरा-५ थलीस्थित भरत थापाको २ तल्ले पक्की घरमा विनोद कुमार कार्कीले भाडामा लिएर नक्कली मदिराको कारखाना चलाएको भेटिएको हो। 

कार्कीले भाडामा लिएको घरमा खानतलासी गर्दा नक्कली खुकुरी रम, गोल्डेन ओक, फाइटर, सिग्नेचर, ३६५ ब्ल्याक बनाइरहेको अवस्थामा भेटिएको हो। 

प्रहरीले उक्त घरबाट मदिरा बनाउन प्रयोग गर्ने समानहरू, सगुन ब्राण्डको मदिरा, चिनी-पानी मिश्रित तरल पदार्थ, विभिन्न रक्सीहरूको खाली बोतल, आन्तरिक राजश्व विभागको अन्तशुल्कका स्टिकर, लेवलिङ र प्याकेजिङ गर्न प्रयोग गरिने सामान पनि बरामद गरेको छ।

उक्त कारखाना चलाउने विनोद कार्कीसहितका ९ जनालाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार कार्की नेतृत्वको गिरोहले स्वदेशी तथा विदेशी ब्राण्डका गुणस्तरहीन नक्कली मदिराहरू बनाई कालोबजारी गर्ने गरेको खुलेको छ। 

त्यसैगरी आन्तरिक राजस्व कार्यालयका अन्तशुल्कका नक्कली स्टिकरहरु प्रयोग गरेर ती मदिरा बजारमा पठाउने गरेको पनि प्रहरीले पत्ता लगाएको छ। 

स्वदेशी तथा विदेशी ब्राण्डका विभिन्न गुणस्तरहीन नक्कली मदिराहरू यो गिरोहले प्रचलित बजार दरभाउभन्दा कम मूल्यमा बेच्ने गरेको पनि अपराध अनुसन्धान कार्यालयले पत्ता लगाएको छ।

अपराध अनुसन्धान कार्यालयले नक्कली मदिरा बेच्ने गिरोहविरुद्ध यसअघि पनि कारबाही चलाइसकेको छ। पहिलो पटक २०७८ माघ १० गते र दोस्रो पटक २०७९ माघ १४ गते यस्तै कारबाही कार्यालयले चलाएर ठूलो परिमाणको नक्कली मदिरा बरामद गरेको थियो। 

बरामद मदिरा
खुकुरी रम-२८८ बोतल
फाइटर प्रिमियम डिलक्स ब्लोन्ड- ९०० बोतल
३६५ डेज ब्ल्याक एक्सएक्सएक्स- ९६ बोतल
गोल्डेन वाक- ६३ बोतल
८८४५ भोड्का- ४८ बोतल
सगुन गोल्ड- १५ बोतल

को को पक्राउ परे? 
हाल काठमाडौंको मूलपानी बस्ने रामेछापको खाँडादेवी गाउँपालिका २ निवासी २८ वर्षीय मनोज खत्री।

रामेछापको खाँडादेबी गाउँपालिका-२  घर भई हाल कोटेश्वर बस्ने ३६ वर्षीय विनोदकुमार कार्की।

सिन्धुपाल्चोकको चौतारा-३ घर भई हाल काठमाडौंको मूलपानी बस्ने २७ वर्षीय मोहन खड्का।

सिन्धुलीको कमलामाई नगरपालिका-९ घर भई हाल काठमाडौंको मूलपानी बस्ने २८ वर्षीय गौरव तामाङ। 

काठमाडौंको कागेश्वरी मनोहरा वडा-६  घर भई हाल मूलपानी बस्ने ३५ वर्षीय सुमन नगरकोटी। 

सिन्धुलीको कमलामाई नगरपालिका-७  घर भई हाल कोटेश्वर बस्ने ४० वर्षीय लेखब्रिकम थापा।

रामेछापको मजुवा गाउँपालिका-३ घर भई हाल मूलपानी बस्ने २३ वर्षीय महेश खत्री।

सिन्धुपाल्चोकको चौतारा नगरपालिका-१ घर भई हाल मूलपानी बस्ने १८ वर्षीय रोशन कार्की।

रामेछापको खाँडादेवी नगरपालिका-२ घर भई हाल मूलपानी बस्ने २० वर्षीय मनीष खत्री। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .