ad ad

समाज


भारतसँगको ऊर्जा व्यापार सम्झौताः एमिकस क्युरीमा बारले पठायो २ नाम

भारतसँगको ऊर्जा व्यापार सम्झौताः एमिकस क्युरीमा बारले पठायो २ नाम

नेपालखबर
माघ २२, २०८० सोमबार १४:५९, काठमाडौँ

भारतसँगको दीर्घकालीन ऊर्जा व्यापार सम्झौताविरुद्धको रिटमा छलफलका लागि नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका तर्फबाट एक–एकजनाको नाम अदालतको सहयोगी (एमिकस क्युरी)का रूपमा पठाइएको छ।

नेपाल बारका तर्फबाट वरिष्ठ अधिवक्ता केदार कार्की र सर्वोच्च बारका तर्फबाट सेमन्त दाहाललाई पठाइएको नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले नेपालखबरलाई जानकारी दिए।

माघ १६ गते सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीको इजलासले अन्तरिम आदेशको छलफलका लागि विपक्षीलाई झिकाउनुका साथै एमिकस क्युरी पनि पठाइदिन बारलाई भनेको थियो।

पूर्वप्रशासक सूर्यनाथ उपाध्यायले भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आउँदा नेपाल र भारतका बीचमा भएको दीर्घकालीन ऊर्जा व्यापार सम्झौता कार्यान्वयनमा रोक लगाउन माग गर्दै रिट दायर गरेका थिए।

उक्त रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले सरकारका नाममा कारण देखाउ आदेश जारी गरिसकेको छ। साथै अन्तरिम आदेश जारी हुने कि नहुने भनेर छलफल गर्न दुवै पक्षका साथ एमिकस क्युरी पनि झिकाउने आदेश भएको हो। इजलास नै माघ २३ गते अर्थात् भोलि मंगलबार पेसी तोकिदिएको छ।

अदालतले यो सम्झौता नेपालको संविधानको धारा २७९ उपधारा २ अनुसार प्राकृतिक स्रोत तथा त्यसको उपयोगको बाँडफाँटको विषय हो कि होइन, संघीय संसदका दुवै सदनमा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतले अनुमोदन गर्नुपर्ने हो कि होइन भनेर प्रश्न गर्दै स्पष्ट पार्नसमेत सरकारलाई भनेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .